२३ बैशाख २०७७, मंगलवार

काठमाडौं, २३ वैशाख । एउटै टोलमा संक्रमितको संख्या अत्यधिक देखिएपछि बाँकेको नेपालगन्जमा पोलिमरेज चेन रियाक्सन (पीसीआर)परीक्षणको दायरालाई विस्तार गरिएको छ। अन्य सम्भावित संक्रमितको खोजी कार्यलाई तीव्रता दिइएको छ।

संक्रमितको खोजीका साथै ट्राभल हिस्ट्री लिनका लागि सहयोेग गर्न संघबाट दुई जनाको टोली परिचालन भएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का निर्देशक डा. वासुदेव पाण्डेका अनुसार सम्भावित संक्रमितको ट्रेसिङ र ट्राभल हिस्ट्रीलगायतमा संलग्न हुने गरी संघबाट दुई वटा टोली नेपालगन्ज गएको छ। उक्त टोली संक्रमण देखिएको स्थानीय बासिन्दाको घर-घरमा खटिएको छ।

सीमावर्ती सहर नेपालगन्जमा हालसम्म १६ जना संक्रमित फेला परेका छन्। उनीहरूबाट अन्यमा पनि सरेको विज्ञहरूको आशंका छ। रोग निन्त्रण महाशाखाबाट हेमन्त ओझा, प्रदीप रिमालसहितको टोली परिचालन भएको छ। त्यस्तै, मन्त्रालयबाट यदुचन्द्र घिमिरेको नेतृत्वमा एउटा टोली खटिएको छ। प्रदेश ५ बाट पनि टोली परिचालन भएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमितमध्ये १५ जना एउटै टोलका भएकाले संक्रमण अन्यमा पनि भएको आशंका छ। उनले भने, ‘एउटै टोलमा धेरै संख्या देखिएको र आवतजावत गरेको पाइएकाले अलि जोखिमयुक्त मानिएको छ।’ याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

LIVE TV