२३ बैशाख २०७७, मंगलवार

काठमाडौँ, २३ वैशाख । संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकार चुकिरहेको भन्दै विज्ञहरूले नेपालगन्जमा फैलिएको संक्रमणले त्यही सन्देश दिएको जनाएका छन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ चुस्त बनाउन र दैनिक ३ हजारसम्म पीसीआर परीक्षण गर्न उनीहरूले सुझाव दिएका छन् । यथास्थितिमा लकडाउन खुकुलो पार्दा स्वास्थ्य चुनौती आउन सक्ने उनीहरूको चेतावनी छ ।

सरकारले लकडाउनबारे निर्णय गर्नुअघि नेपालगन्ज घटनालाई राम्ररी केलाउन आवश्यक रहेको औंल्याउँदै नारायणी अस्पताल वीरगन्जका डा. नीरज सिंहले भने, ‘हामीले डेढ महिना मुलुकलाई रोक्यौं तर यो समयमा अस्पताल, जनशक्ति, चिकित्सकीय सामग्री, परीक्षण आदिको अवस्था बलियो पार्न सकेनौं । सबै तयारी कागजमा मात्रै भयो, अस्पतालमा भएन ।’

चैत ११ गतेबाट सुरु भएको लकडाउनको मंगलबार ४२ दिन पुग्दै छ । अबको दुईदेखि तीन साताभित्र कोभिड–१९ को केस कति बढ्छ, त्यस आधारमा मुलुकको भविष्य निर्धारण हुने उनले औंल्याए । ‘डेढ महिनादेखि अन्तर्राष्ट्रिय नाका बन्द छ तर संक्रमण भित्रभित्रै फैलिरहेको छ, यो संक्रमणको विस्तार अझ केही सातापछि मात्रै स्पष्ट हुन्छ,’ उनले भने । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV