२२ बैशाख २०७७, सोमबार

काठमाडौं, २२ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मंसिर ४ गते भएको सहमति दत्तचित्त भएर कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आज भएको वार्तामा ओली र दाहालबीच सरकार र पार्टी सञ्चालनमा परामर्श गरेर जाने सहमति बनेको हो ।

मुख्यतः मंसिर ४ गतेको सम्झौता पालना गर्ने र सरकार र पार्टी सञ्चालन परामर्शमा गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिवार सचिवालय बैठक बस्नुअघि ओली र दाहालबीचको भेटमा यसअघि भएको कार्यविभाजन पालना गर्ने सहमति भएको थियो । उक्त समझदारीलाई सचिवालय बैठकबाट थप प्रतिवद्धता जनाउँदै स्थायी कमिटीबाट पनि अनुमोदन गर्ने सहमति दुई नेताबीच भएको छ ।

गत मंसिरमा पार्टीभित्र विवाद बढ्दै गएपछि दुई अध्यक्षको कार्यविभाजन गरिएको थियो । समझदारीअनुसार ओली पूर्ण कार्यकाल प्रधानमन्त्री रहने र पार्टीको पूर्ण जिम्मेवारी दाहालले लिने उल्लेख थियो ।

यस्तै, पार्टीमा प्रधानमन्त्री र दाहालको समान मर्यादाक्रम रहने, आम रुपमा बैठकको अध्यक्षता दाहालले गर्ने, दुबैले अध्यक्षता गर्नु परेमा समान हैसियतमा रहने विषय समेटिएका थिए ।

दुई अध्यक्षले आज सोही सहमति इमान्दार भएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन् । आजको भेटमा स्थायी कमिटी बैठकको तयारीबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV