२२ बैशाख २०७७, सोमबार
  • रिदम सिंह,

बझाङ, २२ बैशाख । बझाङमा एक मुटुरोगी महिलाको औषधि नपाएर ज्यान गएको छ । साइपाल गाँउपालिका वडा नं १ धलौन घरभई बिगत चार बर्षदेखि चैनपुरमा बस्दै आएकी ४७ बर्षीया कंका बोहराको ज्यान गएको हो ।

बिगतदेखि नै मुटु रोगको औषधि खादै आएकी बोहराको आईतबार दिउसो ज्यान गएको जिल्ला अस्पताल बझाङले जानकारी दिएको छ । जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दीप ओखेडाका अनुसार मुटुको नियमित औषधि खानु पर्ने भएपनि लकडाउनका कारण औषधि मगाउन नसकेको र जिल्लामा उक्त औषधि नपाईने भएका कारण यस्तो अवस्था आएको बताउनु भयो ।

मृतक बोहरासँग बिगतमा खाने औषधिको पहिचान खुलाउने कुनै पनि कागजात नभएका कारण आफुहरुले लक्षणका आधारमा उपचार गरेको भएपनि उनलाई बचाउन नसकेको डाक्टर ओखेडाले बताउनु भयो । नियमितरुपमा खाने औषधि सेवन नगर्नु र औषधि सकिने बित्तिकै अस्पतालमा नजानाले बोहराको ज्यान गएको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले जानकारी दिनु भयो ।

यता महिला अधिकारकर्मी जयन्ती जोशीले भने लकडाउनको समय भएको र सेवन गर्दै आएको औषधि प्रयोग गर्न नपाएका कारण उनको ज्यान गएको बताउनुभयो । पहुँच भएको भए गाँउपालिकाले समेत पहल गर्ने भएपनि पहुँच नभएकी महिलाले यसरी औषधि नपाएर मर्ने अवस्था आउदा आफुलाई दुःख लागेको जोशीले बताउनु भयो ।

लकडाउनको समयमा बोहराले सेवन गर्दै आएको औषधि काठमाडौंबाट ल्याउन नसक्ने अबस्था आएकोले उनले केही दिन अघिदेखी औषधि सेवन गर्न नपाएको उनका आफन्तको भनाइ छ । मृतक बोहराका तीन छोरा र एक छोरी रहेका छन भने श्रीमानको केही बर्ष पहिला नै मृत्यु भई सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV