
- देवराज पन्त,
मकवानपुर, २२ बैशाख । गत बैशाख १८ गते कम तौल भएको चामल बिक्रि गरेको र अनुगमन टोलीकै अगाडि प्रमाण नष्ट गर्ने प्रयास गरेको हेटौंडाको मणि खाद्यान्न स्टोरलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त बजार अनुगमन गर्दा सो स्टोरको गोदाममा रहेको सिल प्याक चामल दोहोर्याएर सिलाई गरेको र तौल पनि घटी भएको फेला पारेको थियो । सञ्चालक अधिकारीले भने मुसाले चामल खाएर तौल घटी भएको दाबी गर्दै आएकोे भएपनि सिल प्याक चामलको बोरामा कतै प्वाल नपरेको अनुगमन टोलीले बताएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका सचिव तथा प्रवक्ता समेत रहेका काव्यमणि अधिकारी सञ्चालक रहेको सो स्टोरलाई प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ को दफा ६१ को घ २ बमोजिम जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले बताएका छन् ।

अनुगमन टोलीले सो सम्बन्धमा त्यही नै मुचुल्का लेख्ने क्रममा टोलीलाई झुक्याउँदै सञ्चालक काव्यमणि अधिकारीले प्रमाण नष्ट गर्न तौल घटी भएका चामलको सिल ब्लेडले काट्दा काट्दै अनुगमन टोलीले फेला पारेको थियो ।
सञ्चालक अधिकारीले प्रमाण नष्ट गरेको समेत फेला पारेपछि सो स्टोरको चामल गोदाममा अनुगमन टोलीले सिल गरेको थियो । अनुगमनको क्रममा सो स्टोरमा म्याद गुज्रिएका मुसुरोको दाल समेत फेला पारेको थियो ।
