२२ बैशाख २०७७, सोमबार
  • देवराज पन्त

मकवानपुर, २२ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मकवानपुरको हेटौंडास्थित रातोमाटे नाकामा भेहिकल सेनिटाईजिङ (डिसइन्फेक्सन) टनेलको शुभारम्भ गर्नु भएको छ । प्रदेश २ को बारा, पर्सा, रौतहट लगायतका क्षेत्रबाट मकवानपुर भित्रिने मुख्य नाका रहेको पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा–१५ को रातोमाटे चेक पोष्टमा सो टनेल स्थापना गरिएको हो ।

अब देखि मकवानपुर भित्रिने र मकवानपुर भएर अन्य जिल्ला तर्फ जाने साना ठूला सबै सवारी सो भेहिकल सेनिटाईजिङ टनेल भएर सेनिटाईज गरेर जानु पर्ने बताईएको छ । संक्रमण भएका व्यक्तिले छोएमा वा सम्पर्कमा सवारी साधन भएमा सो माध्यमबाट पनि कोरोना संक्रमण सर्ने जोखिम हुने भएकाले सवारीको समेत सेनिटाईज गरिन लागिएको जनाईएको छ ।

बागमती प्रदेश सरकारको करिब २ लाख ७० हजार रुपैयाँ लागतमा सो भेहिकल सेनिटाईजिङ टनेल तयार गरिएको हो । तर सेनिटाईज (डिसइन्फेक्सन) टनेलमा प्रयोग गरिने केमिकलले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले तत्काल बन्द गर्न स्वास्थ्य विज्ञहरुको सुझाव रहेको छ । उनीहरुका अनुसार केमिकलले दम, मुटु र श्वास–प्रश्वासको रोगको उच्च जोखिम हुने र त्यस्ता टनेल कोरोना संक्रमण रोक्न कुनै पनि प्रभावकारिता नहुने बताएका छन् ।

सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार स्प्रेबाट भाइरस मार्छ भन्ने भ्रममा नपर्न सुझाव दिदैं त्यसरी भाइरस मर्ने भए त विश्वले नै यही प्रयोग गर्ने बताउनु भएको छ । संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले डिसइन्फेक्सन ९निसंक्रमण० नै गर्ने भए, अधिक हातको सम्पर्क हुने स्थान ढोकाको नट, धाराको टुटी र धेरै मानिसको आवतजावत हुने अस्पतालका ढोका, बैंकहरुमा गर्न सुझाव दिनु भएको छ ।

विशेषज्ञहरुको अनुसार भाइरसबाट जोगिन अहिलेसम्मको अवस्थामा साबुन पानीले हात धुनु नै रहेकोले त्यस्ता ठाउँहरुमा साबुन र सफा पानीको व्यवस्था नै उत्तम रहेको बताएका छन् । त्यतिमात्र नभइ सवारी भित्र संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका वस्तु रहेछन् भने त्यो झन् जोखिमपूर्ण रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV