२२ बैशाख २०७७, सोमबार

काठमाडौं, २२ बैशख । प्राणघातक कोरोना महामारी नेपालमा पनि तीब्र रुपमा फैलिरहेको समयमा नेपाली नागरिकहरुको जीवन रक्षामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको तलब सुविधा नै कट्टा गर्ने, एकै प्रकृतिको सेवा प्रवाहमा समेत विभेदीकरण गर्नेगरी सार्वजनिक भएका अस्वाभाविक निर्णयप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

चिकित्सक संघको महासचिव डा. बद्री रिजालले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा कोरोना संक्रमितहरुको संख्या ७५ पुगेको अवस्थामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले अत्यन्तै जोखिमका बाबजुद उपचारमा दत्तचित्त भई निरन्तर स्वास्थ्य सेवा प्रवाह गरिरहेका बेला तलब सुविधालाई नै कट्टा गर्ने, एकै प्रकृतिको सेवा प्रवाहमा समेत विभेदीकरण गर्नेगरी सार्वजनिक भएका निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरस (कोभिड–१९) रोग उपचारमा खटिने निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सरकारी कर्मचारीसरहकै सुविधा दिने मन्त्री परिषद्को मिति २०७६ चैत २४ गतेको निर्णयले देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई थप हौसला प्रदान गरेको सबैमा बिदितै छ ।

नेपाल सरकारको उक्त सकारात्मक निर्णयको भावना र मर्म विपरित यस महामारीमा दत्तचित्त भई स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको सेवा सुविधा कट्टी गर्ने, अनुमति बेगर राहतकोषमा रकम जम्मा गर्न दबाब सिर्जना गर्ने, स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाझ विभेदीकरण गर्ने कार्य कदापी न्यायोचित हुन सक्दैन ।’

त्यस्तै, स्वास्थ्यसँग सरोकार राख्ने कुनै पनि जिम्मेवार निकायले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबललाई गिराउने अस्वाभाविक र विभेदीकरण गर्ने निर्णयहरु नेपाल चिकित्सक संघलाई मान्य नहुने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

LIVE TV