२१ बैशाख २०७७, आईतवार

काठमाडौं, २१ बैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

यसै अवसरमा कोरोनाको विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्नलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई नेपाल लाइफले उच्च सम्मान प्रकट गरेको छ ।

२० औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरिएको छ ।

उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानमा रहेका अनाथ, महिला तथा बृद्ध–बृद्धालाई राहत प्रदान गरिएको कम्पनीले जनाएको छ । जस अन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’ मा रु. १ लाख २१ हजार रकम प्रदान गरेको छ ।

त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरेको छ ।

यता बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अगाडि पनि कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ ।

२० औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरुलाई कृतज्ञताका व्यक्त गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) का कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई धैर्य धारण गर्दै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक जीवनशैली अपनाउन आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV