२१ बैशाख २०७७, आईतवार
  • जनकबहादुर शाही

हुम्ला, २१ बैशाख । हुम्लाबासीको मागलाई मध्यनजर गर्दै गृह मन्त्रालयको सिफारिसमा पर्यटन मन्त्रालयले मुलुकका विभिन्न शहरमा लकडाउनका कारण फसेका हम्लाबासीको उद्धार कार्य सुरु भएको छ । उनीहरुलाई गाडीबाट नेपालगंज र सुर्खेतसम्म पुर्याएर त्यहाँबाट हवाई सेवाबाट उद्धार गरेर जिल्ला भित्र्याउने निर्णय गरेसँगै शनिबारदेखि उद्धार कार्य सुरु भएको हो ।

बन्दाबन्दीका कारण अध्ययन र काम विशेषले विभिन्न जिल्लामा फसेका हुम्लाका नागरिकको हवाईजहाज मार्फत उद्धार गर्न सुरु गरिएको हो । काठमाडौं, नेपालन्ज, सुर्खेतलगायतका सहरमा बन्दाबन्दीले सयौँ हुम्ली नागरिक अलपत्र परेका थिए ।

विद्यार्र्थी, बालबालिका, महिला, बिरामी र वृद्धवृद्धाको बिचल्ली भएपछि शनिबार निजी कम्पनीका जहाजबाट उद्धार गरिएका नागरिकहरुलाई प्रत्येक स्थानीय तहले आआफ्नै स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा राख्ने बताएका छन् ।

पालिकामा जिल्ला बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने ५ वटै वडामा व्यवस्था गरेकाले सिमकोट विमानस्थलबाटै सिधै गाडीमा खार्पु पुर्याईएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । शनिबार खर्पुनाथ गाउपालिकाका ४९ जना आएका छन् ।

जहाजबाट सिमकोट पुगेका आफ्ना नागरिकहरुलाई नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाले जिम्मा लिएका छन् । नेपालगञ्जमा रहेका ४ सय ९५ र सुर्खेतमा रहेका ४ सय गरी ८ सय ९५ नागरिकलाई शनिबारबाट जहाजमार्फत हम्ला ल्याउन सुरु गरिएपछि नाम्खाका ५६ जना, सिमकोटका २२ जना, खार्पुनाथका ४९ जना र सर्केगाडका ४ जना गरी १ सय ३१ जनालाई सिमकोट पुर्याईएको छ ।

सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाका जनप्रतिनिधिहरुको पहलमा बन्दाबन्दीमै निजी हवाई कम्पनीका जहाज सीता, तारा, समिट एयरले शनिबारबाट यात्रु ओसार्न थालेका हुन् । यसरी ठुलो संख्यामा नागरिक जिल्ला भित्रिन थालेपछि हुम्ला बासीमा कोरोना संक्रमणको त्रास समेत बढेको छ ।

हवाई टिकटमा ५० प्रतिशत छुट

लकडाउनका कारण मुलुकका विभिन्न शहरमा अलपत्र परेका सर्वसाधारणहरुको उद्धार गर्न सुरु गरेसँगै उद्धार गरिएका विद्यार्थी र वृद्धवृद्धाहरुलाई उद्धार गर्दा लाग्ने हवाई भाडामा ५० प्रतिशत छुट दिने कर्णाली प्रदेश सकारले निर्णय गरेको छ ।

सडक सञ्जाल नजोडिएका कर्णाली प्रदेशका हिमाली जिल्लाका अलपत्र विद्यार्थी र ६० वर्ष माथिका नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत अनुदान दिने कर्णाली प्रदेश सरकारको शनिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सामाजिक विकास मन्त्री दल बहादुर रावलले बताए ।

हुम्लाका लागि नेपालगञ्जबाट प्रतियात्रु १० हजार ५०० सय रुपैयाँ र सुर्खेतबाट १० हजार हवाई भाडा लाग्दछ । हुम्लामा हवाई मार्गबाट उद्धार गरिने नागरिक ८ ९५ जना रहेका छन् । जसमा जेष्ठ नागरिक र विद्यार्थी कति छन् भन्ने यकीन भएको छैन । यसका लागि जहाजबाट हुम्ला पुगेका जेष्ठ नागरिक र विद्याथीले विद्यार्थी परिचयपत्र र ६० वर्षमाथिका नागरिकले नागरिकताको फोटोकपी जिल्ला प्रहरी कार्यालयमा पेश गर्नु पर्नेछ ।

LIVE TV