२१ बैशाख २०७७, आईतवार

एजेन्सी, २१ वैशाख । पश्चिमी भेनेजुएला राज्य पोर्तुगासास्थित एक कारागारमा दंगा भड्किँदा कम्तीमा पनि ४६ जनाको ज्यान गएको छ ।

त्यहाँका मानव अधिकारवादी समूह र विपक्षी सांसदले जनाएअनुसार कारागारमा दंगा हुँदा ४६ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । ४६ वटा शव पहिचान भइसकेको छ समाचार एजेन्सी अलजजिराले लेखेको छ ।

त्यहाँका मन्त्री आइरिस भरेलाले मिडिया समक्ष बताएअनुसार कारागारबाट कैदीहरु भाग्न खोज्दा हुल्दंगा भएको थियो । दंगाका क्रममा कारागारका निर्देशक समेत गोली लागेर घाइते भएका छन् ।

पोर्चुगासाका विपक्षी सांसद मारिया बियत्रियास मार्टिनेजले भने कैदीका परिवारका सदस्यहरूलाई भेटघाटको बेला खानेकुरा ल्याउन प्रतिबन्ध लगाएपछि दंगा भड्किएको बताएका छन् । कैदीहरुलाई आफन्त र परिवारले लगेको खाना नदिएपछि यस्तो अवस्था उत्पन्न भएको विपक्षी सांसदहरुले बताएका छन् ।

सरकारले कोरोना भाइरस संक्रमणको त्रासका कारण कैदीहरुलाई खाना दिन प्रतिबन्ध लगाएको थियो ।

भेनेजुएलामा हालसम्म ३४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १० जनाको मृत्यु भइसकेको छ । जेलमा भने संक्रमण फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो ।

हाल भेनेजुएलामा करिब ५ सय जेल रहेको र त्यहाँ १ लाख १० हजार कैदी रहेको बताइएको छ । कैदीहरुको तुलनामा जेल थोरै भएको र भीड हटाउनुपर्ने मानव अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

LIVE TV