२० बैशाख २०७७, शनिबार

ताप्लेजुङ, २० बैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङमा दोहोरिरहने पीडा बनेको छ आगलागी । गएराति पनि फुङलिङमा भएको आगलागीबाट ८ घर जलेर नष्ट भएका छन् भने आगलागीबाट ३२ परिवार प्रभावित भएका छन् ।

यस्तै ५ वटा संघसंस्थाका कार्यालयमा क्षति पुगेको छ । शनिबार बिहान संकलन गरिएको प्रारम्भिक विवरण अनुसार ८ घर परिवारसहित ती घरमा पसल, डेरागरी बस्ने ३२ परिवार विस्थापित बनेका छन् ।

साना होटल तथा पसलहरु जलेकाले अहिले नै क्षतिको विवरण संकलन भइनसकेको र अनुमानसमेत गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।

बैठकले क्षतिको विवरण संकलन गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलको संयोजकत्वमा ४ सदस्यीय समितिको गठन गरेको छ । उक्त समितिले क्षतिको विवरण संकलन गरिरहेको छ ।

आगलागी पीडितहरुलाई ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले प्रतिपरिवार २ हजारका दरले राहत वितरण गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाइटीले समेत राहत प्रदान गर्ने तयारी गरिरहेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले भने क्षतिको पूर्ण्विवरण आइसकेपछि राहत उपलब्ध गराउने तयारी भएको जनाइएको छ । शुक्रबार राति करिब साढे १० बजेबाट सुरु भएको आगलागीले खेम केसी, नारायण भट्टराई, नेत्र कार्की, चन्द्र प्रसाद निरौला, ठगबहादुर कार्की, हस्तमाया लेछर्बो, रामकुमार शाह, विष्णु कार्कीको घर जलेको छ ।

यस्तै, जिल्ला फुटबल संघ, पाथीभरा ट्याक्सी काउण्टर, जिल्ला प्याब्सन, नेपाली कांग्रेस, अलैँची व्यवसायी संघ र वर्ल्ड मनी ट्रान्सफरका कार्यालयमा समेत क्षति पुगेको छ ।

आगलागीको कारण खुलेको छैन । आगलागी ३ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय आगलागी नियन्त्रणमा खटिएका थिए ।

फुङलिङमा बारम्बार दोहोरिन्छ आगलागीको पीडा

यसअघि पनि सदरमुकाम फुङलिङको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । आगलागीबाट फुङलिङमा एक दशकमा एक अर्ब १० करोडको क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार सबै आगलागी हिउँद याममै भएका हुन्। प्रहरीको तथ्यांक अनुसार आगलागीबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरन्द्र चोकको आगलागीमा भएको थियो ।

त्यसबेला ४५ घर जल्दा ५१ करोड क्षति भएको थियो। २०७३ चैत ९ मा तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जलेका थिए । उक्त आगलागीबाट ४१ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

२०६८ मा शेर्पाटोल र २०६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो। शेर्पाटोलमा आठ करोड ५० लाख र टुक्रेमा पाँच करोड रुपैयाँ क्षति भएको उद्योग बाणिज्य संघले जनाएको छ ।

आगलागीबाट नौ र पाँच घर जलेका थिए। वीरेन्द्र चोकको आगलागी टुकी बत्तीबाट भएको थियो । तोक्मेमा होटलमा रक्सी झान्दा सुरुभएको थियो भने र टुक्रेमा रोटी पकाउँदा र शेर्पाटोलमा विद्युत् सर्ट भएर आगलागी भएको थियो ।

अब भने फुङलिङमा बारम्बार दोहोरिने आगलागीको पीडाको समाधान खोज्नु पर्ने आवाजहरु पनि उठन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV