२० बैशाख २०७७, शनिबार

काठमाडौँ, २० वैशाख । चिनियाँ राजदूत हाउ यान्छीले नेपालमा देखिएका पछिल्ला दुई ज्वलन्त विषय ‘कोभिड–१९ संक्रमण र नेपाल कम्युनिस्ट पार्टीमा देखिएको कलह’ बारे सरोकार राखेर सम्बद्ध नेताहरूसँग भेटवार्ता जारी राखेकी छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता भएपछि शुक्रबार अपराह्न काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले एक सूचना जारी गर्दै यी भेटघाटलाई ‘नियमित प्रक्रियाको संवाद’ भनेका छन् ।

कोभिड–१९ को बढ्दो प्रभावका माझ सिंगो मुलुकले लकडाउन बेहोरिरहेका बेला काठमाडौंमा सत्तारूढ प्रमुख नेताहरूसँग मात्रै चिनियाँ राजदूतले निरन्तर भेटघाट गर्नुमा विज्ञहरूले भने ‘सांकेतिक अर्थ’ पाएका छन् । ‘यो खालको हतारको भेटघाटलाई दुई कोणबाट हेर्न सकिन्छ,’ विगतमा परराष्ट्र मन्त्रालयमा चीन मामिला हेरेका एक पूर्वराजदूतले भने, ‘चीन अरू घटनाक्रममा पनि यसैगरी अगाडि आएको छ कि छैन, त्यो हेर्नुपर्छ । अहिलेको चिनियाँ चासोमा हाम्रो मामिलामा जनाइएको हस्तक्षेपभन्दा बढी उनीहरूको सरोकार गाँसिएको देखिन्छ ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV