२० बैशाख २०७७, शनिबार

काठमाडौँ, २० वैशाख । शनिबार बस्ने सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग नियमित संवाद गरेका छन् । भेटका विवरणहरु सार्वजनिक नभए पनि नेकपामा विकसित राजनीति घटनाक्रमसँगै प्रधानमन्त्री ओलीले थालेका संवाद अर्थपूर्ण छन् ।

बिहीबार ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग एक घण्टा लामो भेट गरे । नेपाल समूहका नेताहरुका अनुसार प्रधानमन्त्रीसँगको भेटमा नेता नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेका थिए ।

यस्तै, प्रधानमन्त्री ओलीले शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि झन्डै दुई घण्टा छलफल गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै दाहालले अर्का नेता नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर भेट गरेका थिए । बिहीबार प्रधानमन्त्रीलाई भेट्न जानु अगाडि नेता नेपालले दाहालसँग छलफल गरेका थिए ।

शुक्रबार नै नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरु उनको निवास कोटेश्वरमा भेला भएका थिए । अध्यक्ष दाहाल र नेपालसहितको भेलामा स्थायी कमिटी सदस्यहरुले शनिबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्न सुझाव दिएका छन् । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV