१९ बैशाख २०७७, शुक्रबार
  • राेशन दानी

काठमाडौं, १९ वैशाख । राजधानीकाे मुख्य नाका चन्द्रागिरि- २ स्थित नागढुंगामा निर्माण भएको आधुनिक ‘डिस्इन्फेक्सन स्प्रेइङ टनेल’ शुक्रबार (आज) उद्घाटन गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले टनेलमा जडान गरेकाे स्विच थिचेर उद्घाटन गरेका हुन् । यससँगै उक्त स्वचालित टनेल सञ्चालनमा आएकाे छ ।

उद्घाटन भएसँगै शुक्रबारदेखि ‘डिस्इन्फेक्सन टनेल’बाट सवारीसाधनलाई प्रवेश गराइएको छ । यसबाट सवारी साधनहरू निर्मलीकरण गर्न सघाउ पुग्छ ।

चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निर्मलीकरण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको बताए ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गाेपी सुर्खेतीले तीन महिनाकाे लागि टनेलका लागि आवश्यक केमिकल (साेडियम हाईड्राेक्लाेराईड) पानी आवश्यक जनशक्ति, विद्युत सडक लाईटकाे व्यवस्थापन भइसकेकाे बताए ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता हरिभक्त महर्जनले काेराेना भाइरस पुर्ण रूपमा नियन्त्रण नभएसम्म डिस्इन्फेक्सन टनेल सञ्चालनमा रहने बताए । उनले केही दिनमै साना गाडी र माेटरसाईकलका लागि छुट्टाछुट्टै टनेल निर्माण हुने र यसका लागि समेत आवश्यक प्रकृया भइसकेकाे बताए ।

टनेल निर्माण काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो । भने चन्द्रागिरि नगरपालिकाले स्थान,पानीकाे ब्यवस्थापन र सुरक्षाकाे प्रवर्धन गरिएकाे मेयर घनश्याम गिरीले बताए ।

यो टनेलले गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ ।

टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना भाइरस पनि नष्ट हुने विश्वास लिइएको छ । टनेलको सञ्चालन नागढुंगाकै प्रहरीले गर्नेछ । अब राजधानी भित्रिने सबै सवारी साधन ‘डिस्इन्फेक्सन’ गराएपछि मात्र राजधानी प्रवेश गर्न पाउने छन् ।

नागढुंगामा टनेलले राम्रो नतिजा दिए फर्पिङ नाकामा पनि निर्माण गर्ने योजना रहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV