१८ बैशाख २०७७, बिहीबार
  • शीतल भट्ट,

बेलौरी कञ्चनपुर, १८ बैशाख । भारतसंग सीमा जोडिएको कञ्चनपुर सीमा क्षेत्रमा कडाई गरिएको छ । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरेर सीमा क्षेत्रमा थप कडाई गरेको हो ।

भारतका विभिन्न स्थानबाट कञ्चनपुरको पुर्नवास नगरपालिका ९ विचफाँटा नाका भएर नेपाल प्रवेश गर्न खोज्ने अठार जना नेपाली मजदूरलाई सीमा क्षेत्रबाट फर्काएर भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाइएको छ ।

सशस्त्र प्रहरीले बल ३५ नम्बर गण शैलेश्वरी अन्र्तगत पुर्नवास नगरपालिका सशस्त्र प्रहरी बोर्डर आउट पोष्टले रोकेर उनीहरुलाई उतै भारतका क्वारेन्टाइनमा राख्ने जिम्मा लगाइएको हो ।

नेपाल र भारत सरकारबीच भएको सहमति अनुरुप नेपालबाट भारत जाने भारतीयलाई नेपालमै र भारतबाट नेपाल आउने नेपालीलाई भारतमै राख्ने सहमति अनुरुप सशस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख वीर सिंह शाहुले बताउनुभयो ।

सशस्त्र प्रहरी प्रमुख शाहुले सीमा क्षेत्रमा आउजाउ पूर्ण बन्द गरिएकाले नेपालबाट भारत जाने र भारतबाट नेपाल जाने दुवैलाई रोकिएको समेत बताउनुभयो ।

सशस्त्र प्रहरीले बुधबार र बिहीबार दुई दिन लकडाउनका बेला नेपाल प्रवेश गर्न खोज्नेहरुलाई प्रवेश गर्न रोकी उतै भारतको क्वारेन्टाइनमा राख्न लगाएको छ ।

पहिलो दिन बुधबार गोरख महर, दशरत महर, बीरेन्द्र महर, दान महर, कृष्ण महर, सरेन्द्र महर, नरेन्द्र महरा, दीपा महर र अर्जुन दयाल र बिहीबार भारतको गुजरातमा मजदूरीका लागि गएका पुनर्वास नगरपालिका ८ का दीपक बिक, पुनर्वास नगरपालिका ९ का कृष्ण जैसी, पुनर्वास ८ का सागरबाबु काष्ठकार, किसन बिक उनकी श्रीमती सुमित्रा बिक र यी दम्पतीका ४ वर्षीय छोरी आरुसी तथा ४ महिनाका शिशु आयुषलाई भाइरस नियन्त्रणका लागि सीमामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रवेश गर्न नदिई फिर्ता पठाएको छ ।

सशस्त्र प्रहरीले दुई नावालकसहित ७ जनालाई भारतीय सीमा सुरक्षा बल एसएसबीको जिम्मा लगाएको हो ।

कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सीमा स्तम्भ १९४ नजिकैबाट नियन्त्रणमा लिइएका उनीहरुलाई भारतको लखिमपुर जिल्ला स्थित एसएसबीको ३९ औं बटालियनको मुख्यालय पलियास्थित क्वारेन्टाइनमा राखिने भारतीय सीमा सुरक्षा बल एसएसबी घोला क्याम्पका इन्चार्ज सहायक निरीक्षक अमित चन्दले बताउनुभयो ।

पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नारायण जैसीले लकडाउनका बेला नेपाल प्रवेश गर्न खोज्दा उनीहरुलाई सशस्त्र प्रहरी बलले रोकेको बताउनुभयो ।

सरकारी नियम र आदेश अनुसार नेपाल प्रवेश गर्न खोज्नेहरु सबैलाई भारतीय क्वारेन्टाइनमा राखिएको पनि उहाँले बताउनुभयो ।

भारतमा कोरोना भाइरसको उच्च जोखिम बढिरहेका बेला भारतबाट नेपाल प्रवेश गर्न खोज्नेलाई सीमा क्षेत्रमै रोकेर सरोकारवाला निकायको पहलमा उत्तै फकाईएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV