१८ बैशाख २०७७, बिहीबार
  • देवराज पन्त

मकवानपुर, १८ बैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त बजार अनुगमन टोलीले हेटौंडा वडा नम्बर–२ प्रभाकरपथमा रहेको मणि खाद्यान्न सेन्टरको गोदाममा आज सिल गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडालगायतका टोलीले सो सेन्टरमा सिलवन्दी गरेको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका सचिवसमेत रहेका काव्यमणि अधिकारी सञ्चालक रहेको खाद्यान्न सेन्टरमा २५ केजीको जगत ब्राण्डको चामलको बोरा दोहोर्याएर सिलाई गरेको र तौल गर्दा आधा केजीसम्म कमी भेटिएको थियो । अनुगमन टोलीले आज ६ वटा बोराको नमूना तौल गरेको थियो र सबै बोरामा आधा किलोसम्म तौल कम पाईएको थियो ।

सञ्चालक अधिकारीले भने मुसाले खाएर तौल कमी भएको हुनसक्ने जवाफ दिएका छन् । आज गरेको अनुगमनको क्रममा कम तौल भेटिएको चामलको बोरालाई टोलीले बेग्लै राख्न निर्देशन गरेको थियो । तर सञ्चालक अधिकारीले कारवाहीबाट जोगिन अनुमगन टोलीलाई छक्याउँदै कम तौल भएका सबै बोराको सिल तोड्न लगाएको भेटिएको थियो ।

अनुगमन टोली घटनास्थल सर्जमिन लेख्न व्यस्त भएको बेला आफ्ना कर्मचारीलाई बोराको सिल खोल्न लगाउँदा लगाउँदै अनुगमन टोलीले फेला पारेको थियो । अनुगमन टोलीले बोरा खोल्न प्रयोग गरिने ब्लेड, सिलाई मेशिन फेला पारेको भएपनि ती सामग्री जफत भने गरेन ।

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ४ को दफा १६ को उपदफा २ क अनुसार यस्ता कसूर गरेमा २ लाख देखि ३ लाख रुपैया सम्म तत्काल जरिवाना हुने व्यवस्था छ ।

यस विषयमा अनुगमन टोली कै अगाडि सिल खोलेर प्रमाण नष्ट गर्न उद्दत हुनु फौजदारी आचारसंहिता विपरितको कार्य भएकोले यस्ता कार्य गर्नेलाई हदैसम्मको सजाय हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तथा अनुगमन टोलीका सदस्य बासुप्रसाद खतिवडा बताउनु हुन्छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दीपकप्रसाद नेपालले अनुगमन टोलीको प्रतिवेदन अनुसारको कार्वाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ । अनुगमन टोलीले आज ४ वटा खाद्य स्टोरमा अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV