१७ बैशाख २०७७, बुधबार
  • बसन्त खतिवडा

बारा, १७ बैशाख । बारा जिल्लामा रहेको एक मात्र अस्पताल कलैया अस्पताललाई कोरोना अस्पताल बनाउने प्रदेश दुई सरकारको निर्णय प्रति नेपाली काँग्रेस बाराले आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसले आज विज्ञप्ति निकाल्दै बस्तीको बीचमा रहेको र जिल्लाका सर्वसाधारणहरुको उपचारको एक मात्र केन्द्र रहेकाले उक्त अस्पताललाई कोरोना अस्पताल निर्माण नगर्न आग्रह गरेको छ ।

‘कलैया अस्पतालमा जिल्लाको विभिन्न ठाँउबाट गरीब असहाय अति विपन्नहरुको उपचार लगायत खोप सेवा, प्रसुति सेवा सञ्चालनमा बाधा अवरोध पुग्नुको साथै कोरोना भाइरसको जोखिम बढने भएकोले कलैया अस्पतालमा कोरोना विशेष अस्पताल निमार्ण नगर्न प्रदेश सरकारसंग जोडदार माँग गर्दछौ’, विज्ञप्तिमा भनिएको छ ।

जिल्ला सभापति जयचन्द्र चौरसियाले जारी गरेको विज्ञप्तिमा सरकारले घोषणा गरेको लकडाउनको पालना गरी समाजिक दूरी कायम राखी कोरोना भाइरसबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन नेपाली काँगेसले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV