१७ बैशाख २०७७, बुधबार
  • विश्वराज तामाङ,

उदयपुर, १७ बैशाख । उदयपुरमा पीसीआर परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । उदयपुरमा हालसम्म ६ सय ५९ को पीसीआर र १ सय ४२ जनाको आरडीटी परीक्षण गरिएको जनाइएको छ ।

पीसीआर परीक्षण गरिएका मध्य ५ सय ३१ जनाको रिपोर्ट आइसकेको र त्यस मध्य २८ जनामा कोरोना पोजिटिभ देखिएको र बाँकीमा नेगेटिभ देखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिनुभयो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईका ५८, त्रियुगा नगरपालिका २ मोथियाईका २० र त्रियुगा नगरपालिका ३ भुल्के लगायत आसापासका क्षेत्रका नागरिकहरुमा गरी ६ सय ५९ मा पीसीआर परीक्षण गरिएको हो ।

पीसीआर परीक्षणलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै स्थानीय तहहरुमा स्वास्थ्य सामग्रीसहित टोली परिचालन गरिएको प्रजिअ पहाडीले जानकारी दिनु भयो । यता हालसम्म क्वारेन्टाइनमा बसेर ८८ जना घर फर्किसकेका छन् ।

हाल उदयपुरका विभिन्न स्थानमा गरी २ सय ७८ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी पहाडीले जानकारी दिनु भयो ।

यता स्थानीयवासीले भने पीसीआर परीक्षणको दायरा नबढेको गुनासो गरेका छन् । त्रियुगा नगरपालिकाको भुल्के क्षेत्रमा २८ जना कोरोना संक्रमित पुष्टि भएपछि स्थानीयवासी त्रासमा बस्न बाध्य छन् ।

त्रासमा रहेका स्थानीयले पीसीआर परीक्षणलाई प्रभावकारी बनाउनका लागि माग गर्दै आएका छन् ।

स्थानीय तहले पनि प्रदेश र संघीय सरकारसंग स्थानीय नागरिकको माग र स्थानीय आवश्यक्ताको आधारमा पहल गरिरहेको त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV