१७ बैशाख २०७७, बुधबार
  • कृष्ण पाण्डे

बुटवल, १७ वैशाख । प्रदेश– ५ को सरकारले आम नागरिकको तनाव व्यवस्थापन र प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले आयुर्वेद चिकित्सा विज्ञानलाई अग्रपंक्तिमा ल्याउने निर्णय गरेको छ ।

आयुर्वेद चिकित्सा पद्धतिमार्फत मानिसहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गरी उच्च मनोबलका साथ कोरोना भाइरस लगायतका रोगसँग लड्न दीर्घकालिन योजना अघि बढाइएको हो ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका औषधी र चिकित्सकलाई पनि कोरोना रोकथामको लडाइँमा परिचालन गर्ने तयारी गरेको छ ।

आयुर्वेद चिकित्सा पद्धतिमार्फत मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले घरेलु विधि र जडिबुटीको प्रयोगलाई प्रोत्साहन गर्न आयुर्वेदिक चिकित्सकलाई परिचालन गर्न लागिएको हो ।

मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आयुर्वेद चिकित्साको बिकास र प्रयोगलाई दिर्घकालिन रुपमा अगाडि बढाउने कार्ययोजना बनाईएको बताउनु भयो ।

आयुर्वेदको क्षेत्रमा कार्यरत प्रदेशका २ सय ७३ जना चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा परिचालन गर्ने योजना रहेको मन्त्री बरालले बताउनु भयो । यसले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई प्रतिरोधात्मक क्षमता बढाउनमा र तनाव व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास उहाँले ब्यक्त गर्नु भयो । मन्त्री बरालले महामारीको अवस्थामा मानिसहरुलाई मनोपरामर्श समेत आवश्यक पर्ने भएकाले आयुर्वेद क्षेत्रका स्वास्थ्यकर्मीहरुको नेतृत्वमा मनोचिकित्सक र योग प्रशिक्षकहरु पनि परिचालन हुने बताउनुभयो ।

मन्त्रालय आयुर्वेद चिकित्सक डा. पुष्पराज पौडेलले आयुर्वेदिक चिकित्सा पद्धति मार्फत कोरोना रोकथाम र नियन्त्रण हुने सम्भावना प्रबल रहकोले प्रदेशमा पहिलोपटक आयुर्वेद स्वास्थ्यकर्मीलाई परिचालन गर्न लागिएको बताउनुभयो । कोरोनाको कारण उत्पन्न तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायहरु, सरसफाईका तरिकाहरु, निश्चित दुरी कायम राख्ने लगायतका विषयमा जानकारी गराउने बिधिको बारेमा उनीहरुलाई तालिम प्रदान गरिने डा. पौडेलले बताउनुभयो ।

मन्त्रालयले जारी गरेको श्रोत सामाग्रीमा कोरोना बिरुद्धको अभियान सफल बनाउन योग, ध्यान, नृत्य लगाएतका बिधिंहरु अपनाउने तथा स्थानिय स्तरमा उपलब्ध जुडिबुटिबाट निर्मित औषधीको सेवनमा प्रोत्साहित गर्नु कार्ययोजनाको मुल लक्ष रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV