१७ बैशाख २०७७, बुधबार

टीकापुर/डोटी/अछाम । लकडाउनकै अवधिमा पूर्वी क्षेत्रबाट झन्डै ८ हजार नागरिक सुदूरपश्चिम प्रदेशमा भित्रिएका छन्। उनीहरू केही पैदल र केही बसमार्फत आएका हुन्। प्रदेशको प्रवेशद्धार कर्णाली चिसापानी हुँदै आएका ती नागरिकको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको छैन।

लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेका अनुसार उनीहरू चैत २७ गतेदेखि मंगलबारसम्म चिसापानीबाट सुदूरपश्चिम प्रवेश गरेका छन्। उनीहरू दोस्रो चरणको लकडाउन थपिएसँगै धमाधम पैदल आउन थालेका थिए। एक सातायता स्थानीय तह, संघीय सांसद, मन्त्रीलगायतले आफ्ना नागरिकलाई बसमै पठाउन थालेपछि त्यो संख्या बढेको हो। अघिल्लो सातासम्म ३ हजार जना प्रवेश गरेका थिए। ‘यो साता स्थानीय तह, सांसदहरूले पनि काठमाडौंबाट बसमा पठाउन थालेपछि यो संख्या निकै बढेको हो’, उनले भने।

धादिङ, गोरखा, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, काभ्रे, नुवाकोटलगायत जिल्लामा रहेका सुदूरपश्चिमेली धमाधम फर्किरहेका छन्। उनीहरूलाई चिसापानीमा सामान्य जाँचसमेत हुने गरेको छैन। अन्य जिल्लाबाट आएकाहरूको स्वास्थ्य जाँच, -यापिड टेस्ट गर्नुपर्ने भए पनि उनीहरू भने त्यत्तिकै फर्किरहेका छन्। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

LIVE TV