१६ बैशाख २०७७, मंगलवार

काठमाडौं, १६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कलडाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी देखिएको निष्कर्ष निकालेको छ ।

सभापति देउवा, पार्टी पदाधिकारी, पूर्व अर्थमन्त्रीहरु एवं अर्थशास्त्रीहरुबीच मंगलबार बसेको बैठकले लकडाउनको कठिन परिस्थितिमा व्यक्ति, वर्ग र क्षेत्रलाई राज्यले पर्याप्त राहत दिनका लागि कदम चाल्नुपर्ने निष्कर्ष निकालेको हो ।

त्यस्तै, कोरोनाको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रमा परिरहेको र पर्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको नेपालको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने अत्यावश्यक योजना र रणनीति बनाउनुपर्ने पनि निष्कर्ष निकालेको छ ।

जसको लागि ज्येष्ठ र जिम्मेवार राजनैतिक दलका रूपमा कांग्रेसले कोरोना सृजित वर्तमान र भविष्यको संकट सुविचारित ढंगले सामना गर्न जिम्मेवार र एकताबद्ध रुपले अग्रसर रहने पनि जनाएको छ ।

मंगलबारको उक्त बैठकमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र उदयशम्शेर राणा उपस्थित थिए ।

त्यस्तै, अर्थशास्त्रीहरुमा डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल, डा. स्वर्णीम वाग्ले, डा. अच्युत वाग्ले, डा. पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा. विश्व पौडेल र राजु नेपाल उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV