१६ बैशाख २०७७, मंगलवार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, १६ बैशाख । लकडाउनको पूर्णपालना गरी आफना मजदूरलाई उद्योग मै राख्ने ब्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको ब्यवस्था गरी उद्योग सञ्चालन गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयद्धारा लकडाउन र त्यसले पारेको असरका बिषयमा संघीय सांसद र तथा प्रदेश सदस्य, ब्यापारी, निर्माण ब्यवसायी र सञ्चारकर्मी र जिल्ला सुरक्षा निकायका प्रमुखबीच राखिएको बैठकले यस्तो निर्णय गरेका हो । सीमामा थप कडाई र लकडाउनको पूर्णपालना गरी खाद्यान्न र तरकारी सहज ओसापोसारका लागि प्रशासनले पास उपलब्ध गराउने निर्णय भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो । संघीय र प्रदेश स्तर तथा पालिकाहरुद्धारा जारी रहेको आयोजनाहरुलाई समेत सञ्चालन गर्न दिने निर्णय भएको छ ।

कपिलवस्तुका सांसदहरुले लकडाउन लम्बिदै जाँदा जिल्लाको सामान्य आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने सुझाव दिएका थिए । सांसदहरुले कृषि, विकास निर्माण र आर्थिक गतिविधिलाई सञ्चालन गर्नुपर्ने बताएका थिए । लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुँदै गएकाले भारतीय सीमा नाकालाई अझ कडाई गरेर निगरानी बनाउनुपर्ने सांसदहरुको सुझाव थियो । सीमा नाकामा भारतीय गाडी नेपाल प्रवेश गर्दा कोरोना संक्रमण फैलन सक्ने बताउदै स्वास्थ्य परीक्षणसहितका आवश्यक सावधानी अपनाउनु पर्ने बताइएको छ ।

लकडाउनकै समयमा सामाजिक दूरी कायम राख्दै खेतीपातीको समय शुरु भएकाले कृषि उत्पादकत्व, जिल्लाको तरकारी विक्री वितरणमा सहज र अधुरा विकास निर्माणका कार्यलाई अघि बढाउनुपर्ने बताइएको छ । स्थानीय स्तरमा विकास निर्माणका गतिविधिलाई स्थानीय स्तरमा रहेका मजदूरको प्रयोग गरी आर्थिक गतिविधि बढाउन सहज हुने समेत बताएका थिए ।

लकडाउनका बेला हालसम्म प्रशासनले अति आवश्यक कामका लागि ७ सय पास जारी गरेको छ । लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुदै गएकाले भारतीय सीमा नाकालाई अझ कडाई गरेर निगरानी बनाउनुपर्ने सांसदहरुले जोड दिएका छन् । उनीहरुले सिमा सुरक्षामा विशेष ध्यान दिदै उच्च सतर्कता अपनाउनुपर्ने बताए ।

सीमा नाकामा भारतीय गाडी नेपाल प्रवेश गर्दा कोरोना संक्रमण फैलन सक्ने बताउदै स्वास्थ्य परिक्षण सहितका आवश्यक सावधानी अपनाउनु पर्ने बताइएको छ । वैठकमा राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रतिनिधी सभा सदस्यहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाह, अतहर कमाल मुसलमान, प्रदेश सभा सदस्यहरु विष्णु पन्थी, अर्जुन केसी दीर्घनारायण पाण्डे, धर्म बहादुरलाल श्रीवास्तव, सहसराम यादव, सुष्मा यादव, माला गोतामे, फैजिया खातुन लगाएतले कपिलवस्तुमा हालसम्म कोरोना संक्रमण नदेखिएकाले त्रसित हुनु नपर्ने बताउदै सतर्कता अपनाएर आर्थिक गतिविधि बढाउन सकिने बताएका थिए । जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनलाई यथावत राख्दै महिला र अपाङ्गमैत्री बनाउन समेत सुझाव दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, व्यापार संघ तौलिहवाका अध्यक्ष गोपीकृष्ण शर्मा, निर्माण व्यवसायी दिनेश हमाललगायतले बिभिन्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV