१६ बैशाख २०७७, मंगलवार
  • राजन परियार,

सिन्धुली, १६ बैशाख । सिन्धुलीमा भारत तथा अन्य मुलुकबाट आएका ४ सय ९१ जनाको द्रूत विधिबाट अर्थात आरडीटी टेष्ट गरिएको छ ।

जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामा गरी नौ वटै स्थानीय तहमा गरिएको नमूना परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लाको कमलामाई नगरपालिकामा १ सय ५२ जना, दुधौली नगरपालिकामा ६७ जना, तिनपाटन गाउँपालिकमा ५२ जना, फिक्कल गाउँपालिकामा २१ जना, सुनकोशी गाउँपालिकामा ३७ जना, गोलन्जोर गाउँपालिकामा ३० जना, घ्याङ्लेख गाउँपालिकामा१३ जना, मरिण गाउँपालिकामा ३८ जना र हरिहरपुरगढी गाउँपालिकामा ८१ जनाको आरडीटी परीक्षण गरिएको हो ।

उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । अहिले सबैलाई होम क्वारेन्टाइनमा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।

शाहका अनुसार हाल आईसोलेसनमा राखिएको विरामी सवै निको भएर घर पठाईएको र ५ जना मात्र क्वारेन्टाइनमा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई ध्यानमा राखेर जिल्लामा ३२ वटा आइसोलेसन र २ सय पाँच वटा क्वारेन्टाइन बेड तयार पारिएको छ ।

जिल्लाका नौ वटै स्थानीय तहमा गरी ३२ वटा आइसोलेन बेड र २ सय पाँच वटा क्वारेन्टाइन बेड तयार भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनु भयो ।

जिल्लामा एक सातादेखि तरकारी जिल्ला बाहिरबाट आयातमा रोक लगाइएको भएपनि मंगलबारबाट तरकारी आयात तथा निर्यातमा खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV