१६ बैशाख २०७७, मंगलवार
  • रिदम सिंह

बझाङ, १७ वैशाख । कोरोना भाइरस संक्रमण रोकथाम र व्यवस्थापनका लागि जिल्लामा रहेको एक गैरसरकारी संस्थाले जिल्ला विपद् व्यवस्थापन समितिलाई राहतस्वरूप स्वास्थ्य सामग्री दिएको छ ।

जिल्लामा रहेको प्रगतीशिल युवा समाजको सहकार्यमा संञ्चालित वल्र्ड भिजनको आर्थिक सहयोगमा सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको सामग्रीमा क्वारेन्टाइनमा प्रयोग हुने पीपी फर्म ९ रोल, त्रिपाल एक सय ८० थान, झुल ९० थान, ब्ल्याङ्केट ९० थान, डोरी ९० रोल, पीपीई ४५ सेट, थर्मल गन ४ सेट र बाटा ४० सेट रहेका छन् ।

जिल्ला प्रसासन कार्यालयमा संस्थाका अध्यक्ष रमेश केसीले प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे लगायत विपद व्यवस्थापन समितिका पदाधिकारीहरुको रोहबरमा साम्रगी बुझाएका हुन् ।

सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने, ‘यी सामानहरु अहिलेको अवस्थामा एकदमै महत्वपुर्ण र आवश्यक छन् । जिल्ला स्वास्थ्य कार्यालय साथै स्थानीय तहसँग समन्वय गरेर कहाँ के सामान आवश्यक पर्ने हो सोही अनुसार वितरण गर्छौं ।’

यसका साथै पनि जिल्लामा कोरोना महामारीलाई लक्षित गरी अन्य संघ–संस्थाहरुले पनि खाद्यान सामग्री लगायत अन्य आवश्यक सामग्रीहरु प्रदान गरिरहहेका छन् । केही समयअघि मात्रै जिल्लाको छबिस पाथीभेरा गाँउपालिका, केदारस्युँ गाँउपालिका र जयपृथ्वी नगरपालिकामा समेत खाद्यान्न, नुन, तेललगायत राहत सहयोग गरेको प्रगतिशील युवा समाजका संयोजक लब बहादुर जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV