१५ बैशाख २०७७, सोमबार
  • राजु पौडेल,

झापा, १५ वैशाख । भारतीय सीमावर्ती इलामको पुलखोला क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गर्न खोज्ने २० जना नेपालीलाई सीमामा खटिएको शसस्त्र प्रहरीले नियन्त्रणमा लिएर भारततिरै फर्काएको छ ।

भारत दार्जिलिङसँगको सिमावर्ती क्षेत्र इलामको सूर्योदय–२ पुलखोला क्षेत्रको जंगल हुँदै नेपाल प्रवेश गर्न लागेका दोलखा घर भएका एक महिलासहित सहित २० जनालाई सोमबार दिउँसो पशुपतिनगरस्थित शसस्त्र प्रहरीको बोर्डर आउट पोष्टको टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका मध्ये कालिञ्चोक गाउँपालिका–४ का दुई जना र ५ नम्बर वडाका १८ जना रहेका छन् ।

प्रहरीका अनुसार उनीहरु दार्जिलिङको सुखियामा मजदूरी गर्दै आएका हुन् । दुवै देशतिर लकडाउन बढ्दै जाँदा खानबस्न समस्या भएर उनीहरु नेपाल छिर्ने खोजेका पाइएको छ ।

‘त्यहाँ बस्दा अहिलेसम्म प्रतिव्यक्ति ६ केजी मात्रै चामल दिएको रहेछ’ उनीहरुलाई उद्धित गर्दै बोर्डर आउट पोष्ट पशुपतिनगरका प्रहरी निरीक्षक पवन खड्काले भन्नुभयो, ‘काम नहुँदा खान र बस्न समस्या भएर घर फर्किन लागेका रहेछन् ।’

उहाँले समस्या परेका नेपालीहरु भएपनि सरकारी निर्देशनअनुसार भारत फर्काइएको बताउनुभयो । उनीहरुलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएर सुखियातर्फ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV