१५ बैशाख २०७७, सोमबार
  • केदार शर्मा

चितवन, १५ बैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनका कारण रोकिएका महत्वपूर्ण आयोजनाका कामहरु सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको छ । सोमबार जारी गरेको सूचनामा प्रशासनले जिल्ला विपद् व्यवस्थापन समितिको वैशाख १२ गतेको निर्णयानुसार यस्ता आयोजना र उद्योग सञ्चालन गर्न भनिएको छ ।

त्यस्ता आयोजनाहरु सञ्चालनका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरु नजिकको स्थानबाट लैजानु पर्ने, दैनिक एक आपसमा सम्र्पकमा आउनु पर्ने कर्मचारी तथा कामदारहरुलाई क्वारेन्टाइन व्यवस्थापन गरी आयोजनास्थलमै राखिएको र क्वारेन्टाइनमा स्वास्थ्य सम्वन्धी मापदण्ड पालना भएको हुनु पर्ने लगायत शर्तहरु छन् ।

कार्यप्रारम्भका लागि त्यस्ता आयोजना तथा उद्योगमा काम गर्ने कर्मचारीहरुका लागि एक पटक पास लिएपछि क्वारेन्टाइनमा वस्नु पर्ने, निर्माण सामग्रीहरु बोक्ने सवारी साधनको आवतजावतका लागि नेपाल प्रहरीलाई जानकारी गराउन पर्ने, नदीजन्य सामान बोक्ने सवारीले आयोजना कार्यालयले दिएको पत्र साथमा राख्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै त्यस्ता सामान सूर्योदयदेखि र सूर्यास्तसम्मको समयमा आवतजावत गर्नु पर्ने, सवारी साधन प्रयोग गरी आयोजनास्थल तथा उद्योगसम्म ल्याउँदा लैजाँदा सुरक्षाका सबै उपाय अपनाउनु पर्ने पनि जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV