१५ बैशाख २०७७, सोमबार
  • मनोरञ्जन शर्मा,

भैरहवा, १५ बैशाख । लकडाउनकै क्रममा भारतको बिहार राज्यबाट पैदल हिडेर १५ जना नेपालीको समूह सोमबार नेपाल भारत सीमानाको सुनौली आइपुगेका छन् ।

उनीहरु ६ दिन अघि बिहारको सासाराम भन्ने स्थानबाट आएका हुन् । ३ महिला, केटाकेटी सहितको टोली रोजगारीको क्रममा त्यहाँ रहेका थिए ।

भारतमा कोरोना भाइरसको संक्रमण बढदै गएपछि आफुहरुलाई असुरक्षित महसुस गर्दै उनीहरु लकडाउन भए पनि केही बिकल्प भेटिएला भन्दै बालबच्चा महिला सहितको टोली लिएर नेपाल फर्किएका हुन् ।

घर फर्कनेहरुमा सुदूर पश्चिम, रौतहट, श्रीरामपुर, लुम्बिनी र एक जना काठमाडौको रहेको सुनौलीका स्थानीय औषधि व्यबसायी मोहम्मद साहिदले बताए । साहिदका अनुसार उनीहरु मध्ये केहीको पैदल हिडेर आउदा खुट्टा पूरै सुन्निएको छ ।

सबैजनालाई महाराजगञ्ज जिल्ला नौतनवा स्थित क्वारेन्टाइनमा पठाइएको छ । त्यहाँ उनीहरुले कम्तिमा पनि १४ दिन बस्नु पर्नेछ ।

उक्त क्वारेन्टाइनमा अझै ६९ नेपाली रहेको रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जानकारी दिनुभयो ।

भारतबाट नेपाल फिर्ता आएकाहरुलाई भारतकै क्वारेन्टाइनमा र नेपालबाट भारत जान खोजेकाहरुलाई भैरहवाको क्वारेन्टाइनमा राख्ने गरिएको र भैरहवाको क्वारेन्टाइनमा अझै ५० बढी भारतीय नागरिक रहेका छन् ।

भारत नौतनवाको क्वारेन्टाइनबाट शुक्रबार र शनिबार गरी २ सय ९६ नेपालीहरु स्वदेश फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV