१५ बैशाख २०७७, सोमबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु , १५ बैशाख । लकडाउनका बेला कपिलवस्तुमा सुरक्षा व्यवस्थालाई चुनौती दिदै वन्यजन्तु शिकार गर्ने घटना बढदै गएको छ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा ८ लोहरौलामा दुई मोटरसाइकलमा आएका शिकारीहरुले एउटा नीलगाई मारेको भेटिएको छ ।

जालको प्रयोग गरेर नीलगाईलाई मार्ने व्यक्तिहरु पक्राउ गर्न नसकेपनि लु २ प २३ र लु २ प ५२२९ नम्बरका दुई मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालयका इञ्चार्ज अभय राउतले जानकारी दिनुभयो ।

लकडाउनका बेला सुरक्षाकर्मीहरु व्यस्त भएको मौका छोपी बन्यजन्तु शिकारीहरु यस्ता आपराधिक गतिविधिमा संलग्न भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

गत बैशाख ८ गते पनि कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ९ जीतपुरमा एउटा नीलगाई शिकार गर्न खोज्ने दुई जना शंकास्पदलाई प्रहरी पक्राउ गरेको थियो ।

तर आवाश्यक प्रमाण नभेटिएका कारण तिनीहरुलाई छोडिएको थियो । अर्कोदिन नै त्यही गाउंँको सीमानामा नीलगाई मृत अवस्थामा भेटिएको थियो ।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको पालना गराउन सुरक्षाकर्मीलाई चुनौती थपिएको वखत वन्यजन्तु शिकार जस्तो आपराधिक गतिविधि बढ्दै गएपछि सुरक्षाकर्मीमाथि दोहोरो चुनौती थपिएको छ ।

LIVE TV