१५ बैशाख २०७७, सोमबार
  • तारा आचार्य,

विराटनगर, १५ बैशाख । लकडाउनको समय थपिदै गएपछि विराटनगरमा समस्यामा परेका मजदूर, विद्यार्थी, कर्मचारी र डेरावालाहरुलाई राजधानी काठमाडौं पठाएको भोलिपल्ट विराटनगर महानगरपालिकाले उस्तै समस्यामा परेका प्रदेश नं. १ र २ का विभिन्न स्थानका यात्रुहरुलाई घर पठाएको छ ।

विराटनगर महानगरपालिकाले सोमवार विभिन्न निजी विद्यालयका १४ वटा बसहरु प्रयोग गरेर ३ सय ८५ जनालाई काकडभिट्टा, लहान, जनकपुर, मिर्चैया, राजविराज, इलाम, चन्द्रनिगाहपुर लगायतका स्थानीयहरुलाई घर फर्काएको हो ।

लगातारको लकडाउनका कारण आर्थिक समस्या भएपछि उनीहरुले विराटनगर महानगरपालिकामा घर पठाईदिन निवेदन दिएका थिए । महानगरपालिकाले यात्रुहरुको स्वास्थ्य परीक्षण गरेर मास्क, सेनिटाईजर र पञ्जाका साथै खाजा समेत उपलब्ध गराएर घर फर्काएको हो ।

राजधानी काठमाडौं फर्काएका यात्रुहरुलाई काठमाडौं पस्न समस्या आएको भएपनि सोमवार पठाइएका यात्रुहरु भने सकुशल आआफ्नो जिल्ला पुगेको विराटनगर महानगरपालिकाका कर्मचारी पूनम दाहालले जानकारी दिनुभयो ।

उहाँले घर फर्काउदा उनीहरुको नाम ठेगाना र सम्पर्क नम्बर सम्म उल्लेख गरेर पठाइएको बताउनु भयो ।

विभिन्न स्थानीय तहहरुले समस्यामा परेका यात्रुहरुलाई फर्काउन थालेपछि गृह मन्त्रालयले जथाभावी सवारी पास वितरण नगर्न निर्देशन दिएको छ । यता समस्यामा परेका यात्रुहरु आफ्नो घर फर्कन पाउदा खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV