१५ बैशाख २०७७, सोमबार
  • वर्षा पुडासैनी

२०७२ सालको विनाशकारी भूकम्पको समयमा म कक्षा ८ मा पढ्दै थिएँ । मैले उक्त भूकम्पको त्यस त्रासदीलाई प्रत्यक्ष अनुभव गरेकी छु । त्यस समयमा लाखौँ विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित हुनपुगे । नेपालको १४ वटै जिल्लामा त्यसको ठुलो असर पर्यो । ठूला–ठूला घर र बङ्गला हुनेहरु पनि घर भित्र बस्न पाएनन् ।

लेखिका

भूकम्पले सबै मानिसलाई घरबाट बाहिर निकालिदियो । त्यसबेला मलाई के लागेको थियो भने दसौँ हजारको ज्यान लिने र लाखौँ मानिसलाई घरबार बिहिन बनाउने यो भूकम्प भन्दा ठुलो अरु विपत्ति अरु केहि हुँदैन होला ! तर मैले आफ्नो जीवनको छोटो समयमा त्यो भन्दा महाविपत्ति देखिरहेको छु, सामना गरिरहेकी छु । नोबेल कोरोना नामक भाइरसले मेरो देश मात्र हैन, सम्पूर्ण विश्व नै ग्रसित भइरहेको छ ।

डिसेम्बर २०१९ देखि चीनको वुहान सहरबाट महामारीको रुपमा सुरु भएर हाल विश्वभर आतङ्क फैलाई रहेको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । आम मानसपटलमा ‘युद्ध’ भन्ने बित्तिकै गोली गट्ठाहरुसँग लडिने युद्ध भन्ने बुझिन्थ्यो तर कोरोना भाइरसको उदयसँगै ‘युद्ध’ शब्दको परिभाषा नै परिवर्तन भएको जस्तो लाग्छ । पहिले युद्ध भन्ने वित्तिकै सामाजिक वैमनष्यताका लागि लड्ने लडाईं भन्ने बुझिन्थ्यो तर कोरोना भाइरसविरुद्ध युद्ध भने सामाजिक सौहार्दता, सहायता र सद्भावनाले लडिने रहेछ भन्ने देखियो ।

आधुनिक हातहतियारले सु–सज्जित कयौं विकासित राष्ट्रहरु जस्तै आमेरिका, इटाली, बेलायत आज आफ्नो आधुनिकतालाई लकरमा बन्द गरी पुर्वीय सभ्यता अनुशरण गर्न बाध्य भएका छन् । पृथ्वी लोकमा नयाँ–नयाँ खोज आविष्कारहरु सम्पन्न गर्दै पृथ्वीको बाहिर अन्य ग्रहमा नयाँ खोज र अनुसन्धानमा आफुलाई अब्बल स्थापित गरेको मानव जाति आज कोरोना भाइरसलाई पराजित गर्न नसकेर यसको ताण्डव नत्य टुलुटुलु हेरी बस्नु परेको छ । यसले के पुष्टि हुन्छ भने मानव आविष्कार र अनुसन्धानले प्रकृतिलाई पराजित गर्न सक्दैन ।

यस विषम परिस्थितिमा विद्यालयमा र महाविद्यालयहरु संचालन नभएकै कारणले एस.ई.ई. परिक्षा दिने भाइबहिनीहरु साथसाथै +२ परिक्षाको तयारी गर्दै गरेका म लगयतका साथीहरु प्रायमा आफ्नो भविष्य नै के होला भन्ने चिन्ता सर्वत्र देखिन थालेको छ । तर यो अवस्थालाई केवल संकटको रुपमा मात्र नलिएर एक अवसरको रुपमा पनि हामी लिन सक्छौँ । यस लकडाउनले परिवारका सबै सदस्यहरुलाई एकै ठाउँमा ल्याईदिएको छ ।

मानव जिवनको अस्थित्वसँग गाँसिएको कोरोनाजस्तो महामारीको संकटसँग जुध्नुका साथै यसलाई विश्वभरबाटै परास्त गर्न लकडाउनको नियम एवं सर्तहरुलाई गम्भिरतापुर्वक पालना गर्नु हामी सबैको प्रमुख दायित्व त छँदैछ । तथापी, यो बिदाले हामीलाई परिवारसँग समय बिताउने सुवर्ण अवसर पनि उत्तिकै प्रदान गरेको छ । अहिलेका विद्यार्थीहरुमा किताबी ज्ञानमा मात्र सीमीत रहेको छ । व्यवहारिक ज्ञान भने कम मात्रामा देखिन्छ । यसैले यस फुर्सदको समयलाई हामीले आफुलाई निम्न कार्यहरुमा संलग्न गराउन सकेमा भविष्यमा हाम्रो जीवनमा यसले ठूलो सहयोग पुग्न सक्दछ ।

१. दैनिक क्रियाकलापको समय सूची बनाउनेः

लकडाउनको अवधी कहिलेसम्म लम्बिन्छ भन्ने निश्चित नभएकाले आफ्नो दैनिक कार्यको समय सूची बनाएर पालना गर्नु महत्वपूर्ण र लाभदायी देखिन्छ । बिहान कति बजे उठ्ने, व्यायाम र योगाका लागि कति समय दिने, मनोरञ्जनका लागि कति सम यदिने, कति बजे सुत्ने, आदिका क्रिलापको सूची बनाउनाले हामी सही समयमा सही काम गर्ने बानीको विकास गर्न सक्छौँ र साथै समय सूची बनाएर काम गर्नाले हामी जाँगरिलो र फुर्तिलो बन्न सक्छौँ ।

२. भान्छा र घर-परिवारको काममा सहयोग गर्नेः

आफ्नो समय कसरी व्यतित गरौँ भनेर सोच्नेका लागि भान्छाको काम गर्नु एक उत्तम उपाय हुन सक्छ । यसो गर्नाले एक त आफ्ना अभिभावकलाई खुशी बनाउन सकियो साथै आफुले नयाँ–नयाँ कामपनि सिकियो । भान्छाको काममा खाना बनाउने, तरकारी केलाउने, भाँडा माझ्ने आदि काम गर्न सकिन्छ । या हाम्रा लागि जीवनउपयोगी र नैतिक शिक्षा पनि हो ।

३. आफ्ना पाठ्यपुस्तक तथा मनोरञ्जनात्मक उपन्यासहरु अध्ययन गर्नेः

अहिले लकडाउनको अवधि लम्बिएको भएतापनि एक न एकदिन कोरोना सँगसँगै लकडाउनको पनि अन्त्य हुनेछ । योे कुरालाई मनन गरेर हामीले अहिले देखि नै पढ्दै गर्नुपर्छ ताकि, पछिको लागि सजिलो होस् । परिक्षाको बेलामा हतार गरेर पढ्नुको साटो अहिले फुर्सदको समयमा पढ्दा दिमागलाई धेरै बोझ पनि पर्दैन । त्यसैले पाठ्यपुस्तकको अध्ययनका लागि हामीले निश्चित समय छुट्याउनु पर्दछ । लकडाउनको उराठलाग्दो समय कटाउनका निम्ति किताब र ज्ञानवर्दक उपन्यासहरु पढ्ने पनि एउटा राम्रो उपाय हुनसक्छ ।

४.रेडियो, टेलिभिजन र सामाजिक सञ्जालका लागि निश्चित समय दिनेः

कोरोनाका कारणले विश्वभर नै असर परेकाले यसले निम्त्याएका असरहरुको बारेमा जानकारी राख्नु महत्वपुर्ण हुन्छ । जुन काम हामी रेडियो टेलीभिजन र सामाजिक संजालका माध्यमहरु हेरेर सुनेर थाहा पाउन सक्छौ । तर यसको मतलब मोबाईल, ल्यापटप र टिभीमै झुन्डिएर बस्नु चाहिँ होइन । अहिलेको परिस्थितिमा त्यसको सदुपयोगभन्दा दुरुपयोग बढी गर्ने गरिन्छ । लकडाउनको समयमा कहिलेकाहीँ समय व्यतित गर्न प्रयोग गर्नुको साटो हामीमध्ये धेरैले यसमा लत बसाईरहेका छौँ । उक्त बानीलाई सुधार्नु जरुरी छ ।

५. अन्तर्निहित प्रतिभालाई निखार्नेः

हरेक मानिसभित्र केहि न केहि प्रतिभा त अवष्य नै हुन्छ । आफ्नो अन्तर्निहित प्रतिभालाई पहिचान गरेर यसलाई निखार्नु फाइदाजनक हुन्छ । आफुभित्र रहेको नाच्ने, गाउने लेख्ने प्रतिभालाई यस लकडाउनको अवसरमा हामीले अझै सामाजीकदेखि विषयवस्तु र अन्य कैयन अनुभवदेखि आफ्नो चेतना, सिप तथा क्षमताको विकास गर्न सक्छौँ ।

६. स्मरणशक्ति वृद्धि गर्ने सामग्री सर्च गरेर हेर्नेः

विद्यार्थी जिवनमा स्मरणशक्ति बढाउनु निकै महत्वपुर्ण हुन्छ । यसका लागि आजकाल गुगल र युट्युब सबैका निम्ति सहज माध्यामको रुपमा सबैको पहुँचको आधार बनिसकेको छ । जसमा स्मरणशक्ति कसरी बृद्धि गर्ने भन्ने बारे विभिन्न उपायहरु छ्यप्छ्यप्ती पाइन्छन् । यी सामग्रीहरु हेरेर हामीले आफ्नो दिमागलाई अझ बढाउन र स्फुर्त बनाउन सक्छौँ ।

७. परिवारका सदस्यहरुसँग मनोरञ्जन गर्नेः

लकडाउनको कारणले आफ्ना साथीभाइहरुसँग भेट नहुने भएकोले आफ्नै परिवारका सदस्यहरुसँग गफ गरेर, खेलखेलेर मनोरञ्जन लिन सकिन्छ । यसको कारणले परिवारका सदस्यहरुबिच प्रेम र सद्भाव पनिबढ्न जान्छ ।

८. योगा र व्यायाम गर्नेः

अहिलेको अवस्थामा बाहिर हिँडडुल गर्न नपाइने हुनाले हाम्रो शरिर र मस्तिष्क नै आलस्य भएको हुन्छ । यस्तो अवस्थामा योगा र व्यायाम गर्नाले हाम्रो ज्यान र मस्तिष्क दुबै फुर्तिलो हुन्छ ।

त्यसैले विद्यार्थी साथीहरु !,
यो लकडाउनलाई संकटको रुपमा मात्र नलिएर एक अवसरको रुपमा लिन सकिन्छ ।
सामाजिक दुरी कायम गरौं, कोरोना संक्रमण हुनबाट आफुपनि बचौँ र अरुलाई पनि बचाऔँ ।

(विदुर नगरपालिका–२ बट्टार नुवाकोटकी स्थायी बासिन्दा रहेकी लेखिका पुडासैनी हालः निष्ट कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् ।)

प्रतिक्रिया दिनुहोस्
LIVE TV