१४ बैशाख २०७७, आईतवार

काठमाडौं, १४ बैशाख । नेपालमा कोरोनाको संक्रमण र उपचारको सवालमा दक्षिण पूर्वी एसियामा नै ठीकै अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले कोरोना संक्रमितको संख्या ५१ पुगेपनि नेपाल भूटानसंगै ‘जिरो मोडालिटी’मा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले दक्षिण पूर्वी एसियाका ११ देशमा सामान्य अववस्थामा रहेको पनि जानकारी दिनुभयो ।

नेपालले अपनाएको मुख्य चार रणनीति ‘टेस्टिङ, ट्रेसिङ, ट्र्याकिङ र ट्रिटमेन्ट’ सफल भएको दावी गर्दै देवकोटाले नेपालको अवस्था भूटान र माल्द्धिभ्सलाई छोडेर सामान्य अवस्थामा रहेको बताउनुभयो ।

नेपालमा पहिलो पटक माघ नौ गते संक्रमित पाइएको जानकारी दिदै उहाँले सबै संक्रमितहरुमा गम्भीर लक्षण नदेखिएको पनि बताउनुभयो । उहाँले हालसम्म संक्रमित कसैको पनि मृत्यु नहुनुले पनि नेपालको स्वास्थ्य क्षेत्रले ठूलो सफलता पाएको चर्चा गर्नुभयो ।

आज मात्र ४ जना डिस्चार्ज

नेपालमा संक्रमित ५१ मध्ये १६ जना डिस्चार्ज भइसेकेको जानकारी दिदै प्रवक्ता देवाकोटाले आज मात्र बीरगञ्जबाट चार जना डिस्चार्ज भएको बताउनुभयो ।

उहाँले रौतहटका १९ बर्षीय संक्रमित युवा बीरगञ्जबाट १२ दिनको उपचार पछि आज डिस्चार्ज भएको र बीरगञ्जमा नै उपचाररत अन्य तीन जना पनि १५ दिनको उपचार पछि डिस्चार्ज भएको जानकारी दिनुभयो ।

संक्रमित पाइएको क्षेत्रमा परीक्षणमा तीब्रता

प्रवक्ता देवकोटाले संक्रमित भेटिएका बीरगञ्ज, उदयपुर र दमकमा परीक्षणलाई तीब्र पारिएको जानकारी दिदै उदयपुरमा ४ सय १३ जनाको स्वाब संकलन भइसकेको बताउनुभयो ।

उहाँले थप ३ सय ३७ जनाको स्वाब संकलन कार्य आज भइरहेको बताउदै झापाको दमकमा पनि ५० भन्दा बढीको नमूना संकलन भइसकेको जानकारी दिनुभयो ।

५१ हजार बढीको परीक्षण सम्पन्न

प्रवक्ता देवकोटाले आजसम्ममा कुल ५१ हजार ३ सय ६७ को दुबै विधिबाट परीक्षण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

हाल क्वारेन्टाइनमा रहेकाको संख्या १७ हजार २५ रहेको र रेडजेनामा ६ जना रहेको जानकारी दिदै उहाँले प्रदेश ५ मा परीक्षण कार्य यसै सातादेखि तीब्र पारिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV