१४ बैशाख २०७७, आईतवार

कञ्चनपुर, १४ बैशाख । लकडाउकनका कारण कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १०, दशगजा स्थित कुतियाकबरमा बसोबास गर्दै आएका स्थानीय किसानहरुले खेतमा पाकेको गहुँबाली समेत काट्न पाएका छैनन् ।

खेतमा गहुँबाली पाकिसक्दा पनि लकडाउनको प्रभावले गहुँ भित्र्याउन नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाभरमै दुर्गम मानिने महाकाली पारिरहेको जोगवुढा नदी सँगैको दशगजा अन्तरगतको कुतियाकबर क्षेत्रमा दुई हजार बाईस साल (२०२२) देखि बसोबास गर्दै आएका स्थानीयलाई वर्षभरकाे अन्न गहुँ खेती भित्र्याउने बेला स्रोत साधनको अभावले समस्या भएको छ ।

जिल्लामै दुर्गम ठाउँको रुपमा परिचित दशगजा महाकालीपारिको क्षेत्र भएकोले सो ठाउँमा सदरमुकामबाट मेसिनहरु लैजानमा कठिनाइ हुने गरेको छ । उक्त क्षेत्र भारतसगँ नजिक पर्ने भएकोले अधिकांश कामकाज भारतसँगैको सहकार्यमा गर्दै आएका किसानहरु लाई लकडाउनले सीमा बन्द भएपछि झन समस्या थपिएको हाे ।

विगतका वर्षहरुदेखि नै यस क्षेत्रमा गहुँ काट्न र चुट्न भारतकै मजदुर र भारतीय मेसिनको प्रयोगले खेती भित्र्याउने गरेको कुतियाकवरका स्थानीयले बताएका छन् ।

कुतियाकवर १० का स्थानीय टेक बहादुर सुनारले भने, ‘गाउँको तल्लो र माथिल्लो भागमा जोगवुढा नदी र महाकाली नदी तर्नैपर्छ । गहुँ चुट्ने मेसिन लिनको लागि पनि नदीमा मेसिनहरु लैजाज मिल्ने पुल नहुदाँ खेतीवालीको समयमा सधै भारतीयकै भर पनुपर्ने बाध्यता रहेको छ ।’

मानिसलाई आवतजावत गर्न झोलुङ्गे पुल बनाइएको भए पनि कृषि जन्य उपकरणहरु पुलभन्दा यता गाउँमा ल्याउन नदीमा पक्की पुल नहुँदा खेतीपातीको समयमा भारतीय कृषिजन्य उपकरणलाई कुर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

कुतियाकवरकै अर्का स्थानीय चेतानन्द शर्माले समेत आफ्नो गहुँवालि खेतमै रहेपछि चिन्ता व्यक्त गरेका छन् । उनले भने; ‘मेसिनहरुको अभाव छ। गहुँ काट्न पनि मानिस लगाउनु पर्छ अहिले सीमा बन्दभएपछि ठूलो समस्या भयो, हामीकहाँ मुजुरी गर्ने मानिस समेत भारतीय भएपछि लकडाउनका वेला उनिहरु नेपाल छिर्न नपाएउदा गहुँ खेतमै रहेको छ ।’

स्रोत साधनको अभाव भएपछि खेतमा पाकिसकेको अन्नबाली खेतमै झर्न थाल्दा यहाँका किसानहरुले गुनासो गरेका छन् । यता महाकाली नगरपालिकाले भने सधै जसो समस्या हुने गरेको भएपनि अहिले कोरोना भाइरसले थप समस्या सृजना गरेको जनाएको छ ।

नगरपालिकाले जोगवुढा नदीमा पानि कम भएको दिन गहुँ काट्ने र चुट्ने मेसिन लगेर समस्या सामाधान गर्ने नगरप्रबक्ता दिल बहादुर सिजालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV