१४ बैशाख २०७७, आईतवार
  • पिपला ढुङ्गाना

सोच्दैछु ती खाली बाटाहरू
के गर्दै होलान् यतिबेला !
मैले सम्झिएजस्तै,
कल्पनाको पाइला लम्केजस्तै,
यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला,
आफ्नाे सदाबहार बटुवालाई?

एउटा घेरा लगाइएको
खुल्ला आकाशमुनि
म मथिङ्गलमा तिनै बाटाकाे यादमा
गाेलचक्कर मारिरहेछु ।

जस्तो कि परपुरुषको समागममा
चरमोत्कर्षमा पुग्छे
घर देशको दु:खले लखेटेर
परदेशले खरिद गरेकाे एउटी अबला
सम्झेर आफ्नो प्रिय पुरुष !

जसरी जबर्जस्ती
स्खलित हुन्छ कुनै गाडा मजदूर
कुण्ठाले खरिद गरेको पुतलीसँग
आफ्नी प्रियतमाको
अँगालोको कल्पनामा !

यो घेराभित्रको गाेलचक्कर
त्यो अबला र गाडा मजदूरकाे सन्तुष्टि
ठ्याक्कै उस्तै लाग्छ अचेल ।

अनि ती सतिसाल जस्ता मान्छेलाई
उतिस बनाएर दन्काउने
समाजको याद आइपुग्छ
मगज खजमज्याउन
र पनि
म चुपचाप हुनुको परिबन्धमा छु

टुलुटुलु मुकदर्शक बन्नु सिवाय
केही गर्न नसक्ने
देखेर पनि
नदेखे जस्तै गर्नु परेको छ
नदेख्दा र नदेखेजस्तो गर्दा
खास फरक पर्ने वाला छैन
किनकि म बन्दी हुँ
र,
बन्दी बनाएको छ समयले मलाई ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV