१३ बैशाख २०७७, शनिबार
  • बसन्त खतिवडा,

बारा, १३ बैशाख । नेपाल आयल निगम प्रादेशिक डिपो कार्यालयले आजबाट रक्सौल तथा बरौनी रिफाइनरीबाट ईन्धन लोड भएका गाडी र चालकहरुलाई सेनिटाइज गर्न थालेको छ ।

स्थानीयबासीले ट्यांकर भारतीय शहर रक्सौल तथा बरौनीबाट ईन्धन लिएर निर्वाद भित्रिएको भन्दै विरोध जनाएपछि निगमले आजबाट गाडी र चालक लाई सेनिटाइज गर्न थालेको हो ।

बाराको पथलैयामा रहेको क्वारेन्टाइनमा चालक तथा सहचालकलार्ई सेनिटाइज गर्ने र निगमको डिपो प्रवेश गर्ने स्थानमा सवारीको सेनिटाइज गर्न थालिएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थ ल्याउने प्रत्येक चालक र गाडीलाई सेनिटाइज गर्दै आइरहेको भएता पनि आजबाट चालकका लागि विशेष ख्याल गर्दै उनीहरुको स्क्रिनिङ, र सेनिटाइज दुवै गर्न थालिएको प्रादेशिक डिपोका प्रमुख भरत रेग्मीले बताए ।

रक्सौल भन्दा बरौनी टाढा रहेको र भारतीय व्यक्तिहरुसँग सम्पर्क हुन सक्ने भन्दै बरौनीबाट आएका ट्याक्करका चालक एवं सहचालकलाई ज्वरो चेक गर्ने तथा सेनिटाइज गर्ने काम भइरहेको छ ।

निगमले यस अघि नै चालकहरुका लागि एप्रोन, मास्क, पञ्जा लगायतका सामग्री उपलव्ध गराइसकेको जनाएको छ ।

अमलेखगञ्ज क्षेत्र डिपोसँगै चालकहरुको बस्ती रहेको क्षेत्र भएको कारण असुरक्षित महशुस गर्दै स्थानीयहरुले हिजो डिपो प्रमुख एवं प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराएपछि आजैबाट नियन्त्रणका प्रयास थालिएको हो ।

स्थानीय मधु शाही ठकुरीले चालकहरु सुरक्षा कवज विना नै भारतीय शहर बरौनी गइरहेको सूचना पाएपछि आफूहरुले निगमको ध्यानाकर्षण गराएको बताइन ।

निगमले डिजल पाइप मार्फत ल्याएको भएता पनि पेट्रोल मट्टितेल, हवाई ईन्धन ढुवानीका साधन मार्फत नै ढुवानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV