१३ बैशाख २०७७, शनिबार
  • अभिमन्यू लामिछाने,

उदयपुर, १३ बैशाख । उदयपुरमा कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भएसँगै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो क्याविनेटका अन्य दुई मन्त्रीसहित पहिलोे पटक त्यहाँ पुग्नुभएको छ ।

शनिबार दिउसो १:३० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र पूर्वी पृतना हेडक्वाटर इटहरीका अनन्त कार्कीलाई लिएर मुख्य मन्त्री राई संक्रमित क्षेत्र त्रियुगा नगरपालिका ३ भुल्के बस्ती पुग्नुभएको हो ।

मुख्यमन्त्री राईले जिल्लाका सरोकारवाला निकायहरुले कोरोना नियन्त्रणका लागि गरेका प्रयास, समस्या, चुनौती, तयारी र स्थानीयबासीको समस्याहरुको विषयमा कुराकानी गर्नुभएको थियो ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र प्रमुख जिल्ला अधिकारीले जिल्लाका समस्याका बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराउनुभएको थियो । उक्त समस्याको सम्बोधन गर्दै मुख्य मन्त्री राईले संकटको बेला औषधि उपचार रभोकमरीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुको दुःख सुखको सारथी स्थानीय सरकार छ । त्यहाँबाट नभए प्रदेश सरकार छ । त्यसैले कोही पनि भोक मर्नुपर्ने अवस्था सृजना हुने छैन् ।‘

त्यस्तै, उहाँले, सबै नागरिकको खान पाउने र स्वास्थ्य अधिकार सुनिश्चित गर्नु सरकारको कर्तव्य भएकाले, निश्चिन्त भएर बस्न उदयपुरबासीलाई अपील गर्नुभयो । मुख्यमन्त्री राईले कोरोना भाइरसविरुद्ध लडनका लागि प्रदेश सरकारले आफ्ना सबै संयन्त्र र शक्ति प्रयोग गर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले उदयपुर जिल्लालाई कोरोना भाइरस विशेष क्षेत्र घोषणा गरी रोकथाम, उपचार र जनताका आधारभूत समस्यालाई सम्बोधन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले चाँडै कोरोना उपचार केन्द्र बनाउनका लागि पनि ठाउँ हेर्न, जनताका समस्या र भइरहेका प्रयास बारे बुझ्न विभागीय मन्त्रीलाई लिएर आएको बताउनुभयो ।

‘धेरै साथीहरुको सुझाब नेपाली सेनाको बेलसोत क्याम्पलाई कोरोना उपचार केन्द्र बनाउन सुझाब आएको छ । त्यो ठाउँलाई आजै निरीक्षण गरी उपयुक्त लागे भोलिबाटै प्रकृया सुरु हुनेछ, उहाँले भन्नुभयो ।

कोरोनाको जटिल परिस्थितिमा खट्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई आस्वस्त पार्दै मुख्यमन्त्री राईले भन्नुभयो, ‘तपाईहरु निश्चिन्त भएर खटनुस्, संघले प्रोत्साहत गर्ने गरी केही सुबिधा घोषणा गरेकै छ । थप प्रदेश सरकारले यस्तो बेला खटिने साथीहरुको मृत्युवरण भए परिवारलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

उहाँले संघीय सरकारले लकडाउनलाई केही खुकुलो बनाएपनि तत्काल उदयपुर जिल्लाको हकमा खुकुलो अवस्था बनाउने सोचमा प्रदेश सरकार नरहेकाले लकडाउनलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।

यसैबीच आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले कोरोना संक्रमित क्षेत्रमा स्वास्थ्य सामग्री, औषधि उपचार, उपकरण अभावमा जनता स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने गरी प्रदेश सरकार साथमा रहने बताउनुभयो ।

त्यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर र धरानको चापलाई मध्यनजर गरी उदयपुरमै कोरोना उपचार केन्द्र बनाउने गरी वजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले तीन तहका सरकारबीच समन्वय भएमा कोरोनाको महामारीलाई जित्न सकिने बताउनुभयो ।

यसै अवसरमा मुख्यमन्त्रीको टोलीले शनिबार नै नेपाली सेनाको वेलसोतस्थित सुरक्षाबेसको क्वारेन्टाइनको निरीक्षण गर्ने भएको छ । गृहजिल्ला भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका २६ वर्षीय युवामा कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्री राई संक्रमित क्षेत्र भोजपुरबाट उदयपुरको त्रियुगा नपा ३ भुल्के हुँदै कटारी नपा १ स्थित बेलसोत पुग्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV