१३ बैशाख २०७७, शनिबार

काठमाडौं, १३ बैशाख । सरकारले हालसम्म कूल ४९ हजार ३३६ बराबरको परीक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पीसीआर परीक्षण सङ्ख्या नौ हजार ६६६ रहेको छ भने -यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षण ३९ हजार ६७० पुगेको छ ।

त्यस आधारमा कूल परीक्षण ४९ हजार ३३६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप एक हजार ९४५ नमूना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार १६० परीक्षण गरिएको छ ।

प्रदेश नं २ मा कूल पाँच हजार ४४, वाग्मती प्रदेशमा कूल सात हजार ४६७ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ८७१, प्रदेश नं ५ मा दुई हजार ९५०, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कूल १० हजार २०४ नमूना परीक्षण गरिएको छ ।

हालसम्म कूल १४ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कूल ८७ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा तीन र बाहिर ८४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल एक हजार ९०० जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कूल २५ हजार ९०६ जनाले मूल्याङ्कन फाराम भरेकामा तीन जनाको अवस्था जोखिमपूर्ण देखिएकाले टे«सिङ गर्ने कार्य जारी रहेको छ । हालसम्म कूल रेड जोनमा भने २९० जना रहेका छन् ।

शुक्रबार साँझ झापाको दमकका एक ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ फेला परेको थियो । गत चैत ४ गते दुबईबाट नेपाल आएका ती पुरुषको छोरासहितको परीक्षण गर्दा ६५ वर्षीय पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

यस्तै धौलागिरी अस्पतालले शुक्रबार साँझ नै एक कोरोना सङ्क्रमित युवतीलाई घर पठाइएको थियो भने भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि घर पठाउने तयारी गरिएको छ ।

हालसम्म देशभर कूल ४९ जना कोरोना सङ्क्रमित देखिएकामा १२ निको भएर घर फर्किसकेका छन् । हाल धनगढीमा एक, वीरगञ्जमा पाँच भरतपुरमा एक विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

उपचारमा रहेकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

सो अवसरमा गर्मी बढ्दै गएको अवस्थामा औलो रोगको जोखिम बढ्न जाने अवस्था रहेकाले त्यसबाट पनि सुरक्षित रहनसमेत मन्त्रालयले आम जनसमुदायमा आग्रह गरेको छ ।

आज संसारभर नै विश्व औलो दिवस मनाइएको छ । यस वर्षको औलो दिवसको नारा ‘आफैँबाट शुरु गरौँ, औलोलाई शुन्य बनाऔँ’ रहेको छ । संसारभर नै प्रतिदुई मिनेटमा औलाका कारण एक जनाको ज्यान जाने गरेको छ ।

लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले घर वरपर विशेष स्वास्थ्य सफाइ गर्नसमेत सो अवसरमा प्रवक्ता डा देवकोटाले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV