१३ बैशाख २०७७, शनिबार

सिन्धुली, १३ वैशाख। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देश लकडाउनमा छ । सरकारले महामारीलाई नियन्त्रण गर्न तथा यसबाट सुरक्षा अपनाउन लकडाउन घोषणा गरेको एक महिना बढि भैसक्यो ।

चैत १० गते राति एक्कासी लकडाउनको घोषणा गरेसंगै उपत्यका बाहिरका लाखौं मजदुर, विद्यार्थी र सर्वसाधरण काठमाडौंमा नै बन्धक बने । नोकरी गरेर छाक टार्ने परिवारदेखि लिएर कोठा भाडामा बस्ने विद्यार्थीहरु समेत समस्यामा परेका छन् । राजधानीमा खान र बस्न सक्ने अवस्था नभएपछि लाखौं मजदुर तथा विद्यार्थी रातदिन हजारौं किलोमिटरको पैदलबाटै आफ्नो घर जान बाध्य भए ।

अहिले देशका विभिन्न स्थानीय सरकारले आफ्ना क्षेत्रका नागरिकलाई उपत्यकाबाट गाडिको व्यवस्था गर्दै घर फर्काउने व्यवस्था गरिरहेका छन् । सिन्धुली तीनपाटन गाउँपालिका वडा नं ४ का विनोद दुलाल भन्छन् — ‘लामो समय उपत्यकामा विभिन्न समस्या झेल्दै दिनकाटेका हामी एक मिहिनापछि गाउँ घर फर्किन पायौं । फेसबुक र टिभीमा मजदुरहरु पैदलनै घर फर्केको तस्बीर देखेपछि ढिलोचाँडो हाम्रो हालत पनि यस्तै होला भन्ने लागेको थियो । अहिले उक्त त्रासबाट मुक्त भएका छौं ।’

राजधानीमा अलपत्र परेका मदजुर, विद्यार्थी तथा सर्वसाधरणलाई तीनपाटन गाउँपालिकाले धमाधम आफ्नो गाउँघर फर्काउन थालेको छ । गाउँपालिकालेनै आर्थिक खर्च व्यहोर्ने गरी गाडिको व्यवस्थासहित नागरिकलाई गाउँ ल्याएको हो ।

तीनपाटन गाउँपालिकाको अनुसार — ‘काठमाडौंमा अलपत्र परेका सर्वसाधरणलाई नौ वटा बसको व्यवस्था गरी ६५८ जनालाई सिन्धुली ल्याईएको छ । गाउँपालिकाको वडा नं ३ झार्लङटारमा पालिका बाहिरबाट आएका नागरिकको स्वास्थ्य जाँच गरेपछि मात्रै घर पाठाउने गरिएको छ । उपत्यकाबाट आएका सर्वसाधरणहरु १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयलाई गाउँपालिकाले अनिवार्य बनाएको छ । त्यसपछि स्वास्थ्यमा केही समस्या देखिए थप परीक्षण तथा उपचार गरिने व्यवस्था गाउँपालिकाको छ ।’

तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापाले यो आफ्नो कर्तव्य भएको बताउँदै यस्तै समस्यामा परेको कोही हुनुहुन्छ भने गाउँपालिकामा सम्र्पक गर्न समेत अनुरोध गर्नुभयो । ढिलै भएपनी स्थानीय सरकारको सहयोगमा घर आउन पाउँदा स्थानीय खुसी छन् । पिठ्युमा बच्चा बोकेकी एक महिला भन्दै थिइन गाउँ आउन पाइयो यसैमा खुसी छु । अब त साग मात्रै खाएर भएपनि बाचिँने आत्मबल जागेको छ । बिना खर्चमा सजिलोसंग आउन पाइयो यसमा झन् खुसी छु ।

नागरिकहरुमा मनोवैज्ञानिक त्रास बढ्दै जाँदा आफ्नो नागरिकलाई सहज व्यवस्थापन गर्न केन्द्र सरकारबाट उपायसहितको निर्देशन आउने अपेक्षा थियो गाउँपालिका अध्यक्ष कर्ण थापा भन्नुहुन्छ— त्यो नपाएपछि उपत्यकामा राजनीतिक र सामाजिक क्षेत्रमा रहनुभएका साथीहरूसँग समन्वय गरेर आफ्ना नागरिक ल्याएका हौं ।

जनतालाई समस्या परेको महसुस गरेपछी हामीले कुनै यात्रुको पनि भाडा नलिने निर्णयका साथ गाडीधनी र चालक सँग समन्वय गरेर काठमाडौं पठाएका थियौं र त्यही अनुसार तिनपाटनका नागरिक आफ्नो घर फर्किएको थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापा भन्नुहुन्छ — ‘आफ्नो गाउँपालिकाको जनताको करबाट संचालन भएको सरकारले अप्ठ्यारो परेको समयमा आफ्ना नागरिकलाई निशुल्क घर ल्याउने सेवा गर्न पाउँदा हामी पनि खुसी भएका छौं । सम्पूर्ण तीनपाटनबासी आफैंले तिरेको करको पैसाले घर आए त्यसैले यो खर्च गाडीलाई गाउँपालिकाले दिन्छ । यस कार्यमा जनप्रतिनिधिको भूमिका भनेको सम्पर्क गरेर आफ्ना नागरिक ल्याउने मात्र हो ।’

एकसय ५० भन्दा बढी गाउँपालिकाको सम्र्पकमा आएका पोखरामा रहेका नागरिकलाई लिन तीनपाटन गाउँपालिकाले आज तीनवटा बस पोखरा पठाएको छ । तीनपाटनको तीन नम्बर वडाअध्यक्ष लाल बहादुर स्याङतानले काठमाडौंमा बाँकी रहेका आफ्नो वडाका नागरिकलाई उनिहरु बसिरहेको घरमानै राहत स्वरुप खाद्यान्न पठाएका बताउनुभयो ।

हालसम्म ५७ परिवारलाई खाद्यान्न उपलब्ध गराएकाको जानकारी समेत उहाँले जानकारी दिनुभयो । काठमाडौं लगायत अन्य क्षेत्रमा पेशा, तथा व्यवसाय गर्न पुगेका नागरिकहरुलाई ल्याउने तयारीको विषयमा गाउँपालिकाले छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV