
- हरि शंकर शर्मा,
वीरगञ्ज, १३ बैशाख । विदेशमा रहेका नेपाली नागरिकहरुलाई सकुसल स्वदेश फिर्ता ल्याउन माग गर्दै जनता समाजवादी पार्टीसँग आबद्ध विद्यार्थीहरुले वीरगञ्जमा बिरोध प्रदर्शन गरेका छन ।
सामाजिक दूरी कायम गरी विद्यार्थी नेता मधुसूधन चौरसियाको नेतृत्वमा विद्यार्थीहरुले वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गरेका हुन् ।

विश्वसँगै मुलुक अहिले कोरोना भाइरस संक्रमणको महामारीसँग लडिरहेको अवस्थामा नेपालका राजनीति दलहरु आफ्नो स्वार्थमा डुबेर राजनीति गरिरहेको अवस्थामा सम्पूर्ण नेपाली जनता अहिले मारमा परिरहेको उल्लेख गर्दै विपतको बेला फोहोरी राजनीति बन्द गरी आफ्ना नागरिकहरुको स्वास्थ्यप्रति ख्याल राख्नुपर्ने उनीहरुको भनाइ छ ।
कोरोना भाइरस संक्रमणका कारण विश्वनै लकडाउन हुने अवस्थामा विदेशमा रहेका लाखौ नेपाली जनता अलपत्र परेको भन्दै फोहोरी राजनीति बन्द गरी आफ्ना नागरिकहरुको उद्दार गर्नुपर्ने विद्यार्थी नेता मधुसूधन चौरासियाले माग गरेका छन ।

उनले स्थानीय तहमा वितरण भइरहेको राहतमा देखिएको कालोबाजारी, भष्टाचारी, अनियमितता लगायतका कार्यले स्थानीय सरकारको काम कारबाहीमा गम्भीर प्रश्न उब्जिएको भन्दै तत्काल जनताको हितमा लाग्नुपर्ने बताए ।
“विदेशमा रहेका सम्पूर्ण नेपालीलाई स्वदेश फर्काउन समन्वय गर, कोरोना भाइरस महामारीको बेला राजनीति बन्द गर”, राहत वितरणमा राजनीति बन्द गर, लगायतका प्लेकार्ड बोकी गरिएको बिरोध प्रदर्शनमा विद्यार्थी नेताहरु सुमित चौरसिया, प्रभाकर मोदी, सुजित झा, प्रभाकर चौरसियालगायतको उपस्थिति रहेको थियो ।