१३ बैशाख २०७७, शनिबार
  • माधब गैह्रे,

स्याङ्जा, १३ बैशाख । स्याङजाको पुतलीबजार नगरपालिकामा रहेको कुमारी बैंकको शाखाले १ हजार कमी दिएको सामाजिक सुरक्षा भत्ता पूरा गरेको छ ।

गत विहीबार सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा प्रति व्यक्ति १ हजार काटेर दिएको कुमारी बैंकले न्यूज २४ नेपाल डट टिभीमा समाचार प्रकाशन भएपछि सामाजिक भत्ता पूरा उपलब्ध गराउन बाध्य भएको हो ।

बित्तीय संस्थाले सामाजिक सुरक्षा भत्तामा सेवा शुल्क लिन पाउने प्राबधान नभए पनि कुमारी बैंकले बृद्धाहरुको घरमै पुगी केन्द्र बाटै काटेर आएको भन्दै प्रति व्यक्तिको १ हजार रुपैयाँ काटेर दिएको थियो ।

नियमले चौमासिकको १२ हजार रुपैयाँ पाउनु पर्ने भए पनि ११ हजारको मात्रै चेक काटी स्थानीय भीमबहादुर गैह्रेलाइ दिए पछि गैह्रेले लकडाउनलाई सहयोग गर्न बैंकले १ हजार काटेको बुझेका थिए ।

यथार्थ नै नबुझाइ १ हजार कम पाएपछि न्यूज २४ लाई खबर गरेका गैह्रेले पूरै पैसा आए पछि खुसी भएको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता लिनेहरुको हकमा पुतलीबजार नगरपालिकासंग कुमारी बैंकले सम्झौता गरेको थियो । बैंक र पुतलीबजार नगरपालिकाबीच सम्झौतामा सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई विद्युतीय सेवा प्रवाह नगर्ने उल्लेख गरिएको भए पनि कुमारी बैंक स्याङजा शाखाले विद्युतीय सेवा प्रवाह भनी रकम काटेको थियो ।

बैंकले ११ नंं. वडामा सामाजिक सुरक्षामा चौमासिक रुपमा ३४ लाख बराबरको कारोबार गर्दै आएको छ । कुमारी बैंक स्याङजा शाखाका प्रबन्धक अमर श्रेष्ठले भने आफ्नो दोष नभएर एसएमएस वैंकिङ सेवा वापतको रकम प्रधान कार्यालयले नै काटेर पठाएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV