१३ बैशाख २०७७, शनिबार
  • दान बहादुर बुढा

मुगु, १३ बैशाख । मुगु जिल्लाको पूर्वी भेगमा रहेको मुगमकामारोङ्ग गाँउपालिकाको विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनमा यस वर्ष रोक लगाएको छ ।

विश्वमा फैलिएको काेराेना महामारी नेपालमा पनि संक्रमण फैलिरहेकाे अवस्थामा सरकारले लकडाउन गरेको छ भने भिडभाड, जमघट नगर्न देशैभर निर्देशन दिएको छ । यही कुरा मध्यनजर गरी मुगु जिल्ला र मुगमकामारोङ्ग गाउँपालिकामा यार्सागुम्वा संकलनमा रोक लगाईएको गाँउपालिकाका अध्यक्ष छिरीङ्गक्पर्ने लामाले बताए ।

मुगमकामारोङ्ग गाउँपालिकाको निर्णयअनुसार गाउँपालिकाको सानो कोईकी, ठूलो कोईकी, हाङदाङ, छापाखोला, डोल्फु पाटन, रिमाटलगायत दर्जनाैँ पाटनमा पाईने यार्सागुम्बा संकलनमा यो वर्षभरि नै राेक लगाइएकाे हाे । बाहिरी जिल्ला र जिल्लाभित्रैबाट समेत हजाराैँ मानिस यार्सा खाेज्न जमघट हुने हुँदा रोक लगाउनुपरेकाे मुगमकामारोङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताए ।

मुगमकामारोङ गाँउपालिकामा बस्ने १६ वटा बस्तीहरुका ५ हजारभन्दा बढी स्थानीय बासीहरुको सबैभन्दा बढी १२ महिनासम्म जीवन निर्वाह गर्ने मुख्य आयस्रोत नै मुख्य यार्सागुम्बा र अन्य जडिबुटी हुन् । घरमा उपादन भएको अन्नले २ महिना सम्म पनि धान्न पुग्दैन । जीवन निर्वाह गर्नको लागि व्यापार पनि रहेकाे छ, तर कोरोना भाइरसको कारण देश लकडाउनमा हुँदा यहाँका बासिन्दा मारमा पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV