१३ बैशाख २०७७, शनिबार
  • जनकराज अवस्थी


लेखे लाग्दछ काव्य शुद्ध रचना माधुर्यको यो कथा ।
लोकै स्वर्ग समान दिव्य मनको यो सिर्जनाको कला ।
छर्छिन् यो तनमा सुभाष गमिलो यो ज्ञानको धाम हो ।
धारा आमृतका बगेर यमुना प्यारो छ नेपाल यो ।
।।१।।
भाषा लोक सदा रहेर मनना हाँसो भयो सौरभ।
नेपाली इतिहास रक्त कलको ज्ञानी सदा गौरव ।
रातो चन्द्र र सूर्य गौरव सदा यो रक्त सञ्चार हो ।
आमाको ममता थुनेर मनमा प्यारो छ नेपाल यो।
।।२।।
पुर्खाको मन सान गौरव सदा लड्नेहरू पाखुरा ।
मेरो देश विशाल पियूष घडा हेर्दै गए टाकुरा ।
साचै सुन्दर हर्ष साथ ममता माटो कलाकार हो ।
अर्को स्वर्ग भएन यो भुवनमा प्यारो छ नेपाल यो।
।।३।।
प्रेमै सार सरी भएर गहना यो दिव्य सौ धाममा ।
आफ्नै हुन् यिन शैल साधन यहाँ सौभाग्यका माझमा ।
खोक्रा बात सधै किनार रहदा त्यो ताप राफै न हो।
मेरो देश महान गौरव घरा हो प्यारो छ नेपाल यो ।
।।४।।
बाजा घण्ट र प्राण लौ सब बजे ती वीर गाथाहरू ।
राजाको रणमा यि सुन्दर जले ती धीर बाताहरू ।
कोदाला कति भाँचिए रहरमा ती भाव सारा न हो ।
छायामा फल फल्छ मर्म छ यहाँ प्यारो छ नेपाल यो ।
।।५।।
ती बोले पन मुक्त साथ तिनले बोलेन देशै भनी ।
ती चाहे पन दुःख पार यिनले बिर्सेन देशै पनि ।
नेपालीपन साथ पियूष सदा यो मेल जुड्ने न हो ।
भाषा भाव भिजेर सुन्दर यही प्यारो छ नेपाल यो।
।।६।।
अर्ती या उपदेश ती सब सुने ती लोक भाकाहरू ।
आगोझैँ कति प्राण दुश्मन यहाँ ती क्रोध नाराहरू।
साँचै ज्ञान रहेछ मोहक यहाँ यो ज्ञान भण्डार हो ।
साँचै प्रेम छरेर धड्कन यहाँ प्यारो छ नेपाल यो।
।।७।।

(छन्द: शार्दूलविक्रीडित)

LIVE TV