१३ बैशाख २०७७, शनिबार

काठमाडौं, १३ बैशाख । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर-९ ले लकडाउनको मारमा परेका आफ्नो ११३ जना नागरिकहरुको उद्दार गरेको छ ।

शुक्रबार बा ४ ख ९८१८, बा ३ ख ७८१६, बा ४ ख ५९२१ र बा ४ ख ४४३१ नम्बरको ४ वटा गाडीमार्फत् लकडाउनका कारण काठमाडौंमा विचल्लीमा परेका आफ्नो ११३ नागरिकहरुको उद्दार गरेको हो ।

उद्दार गरिएका ११३ जना नागरिकहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा राखिने जानकारी गराइएको छ । यसैबीच थुलुङ दूधकोशी गाउँपालिका प्रमुख असिम थुलुङले शुक्रबार मात्रै १० वटा गाडीमार्फत ३०० जना आफ्नो नागरिकहरुको उद्दार गरिएको जानकारी गराएका छन् ।

यसका साथै, आज (शनिबार) र भोलि (आइतबार) कम्तीमा एक हजार जना आफ्नो नागरिकहरुको उद्दार गर्ने जानकारी दिएका छन् । उनले भने, “हामीले तीन दिनमा हाम्रो नागरिकहरुको उद्दार गर्नेछौं । हामीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर हाम्रो नागरिकहरुको उद्दार गरिरहेका छौं ।”

उनले थपे, “हामीले हाम्रो नागरिकहरुको ट्राभल हिस्ट्री तयार पारेका छौं । शंकास्पद रुपमा अलि बढी घुमफिर गर्ने नागरिकहरुलाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिने छ ।”

प्रतिक्रिया दिनुहोस्
LIVE TV