१२ बैशाख २०७७, शुक्रबार
  • शितल भट्ट,

कञ्चनपुर, १२ बैशाख । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन मानवीय सुरक्षाका लागि क्वारेन्टाइनमा राख्ने नीति सुरक्षित मानिएको छ । तर, कञ्चनपुरका क्वारेन्टाइनमा बस्नेहरु भने असुरक्षित भएका पाइएको छ ।

लालझाडी गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेहरु सबै भन्दा बढी असुरक्षित भएका पाइएको छ ।

लालझाडी गाउँपालिकामा रहेका क्वारेन्टाइनको अवस्था दयनीय छ । यस विषयमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

लालझाडी गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिन चार स्थानका विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको छ । उक्त प्रयास राम्रो भएतापनि व्यवस्थापन भने फितलो देखिएको छ ।

मुलुक लकडाउनकै अवस्थामा केन्द्रीय राजधानी काठमाडौं लगायतका विभिन्न जिल्लादेखि धमाधम मानिसहरु पठाउन थालेपनि कञ्चनपुरका स्थानीय तहलाई व्यवस्थापन गर्न चूनौती भएको हो ।

लालझाडी गाउँपालिका १ नौरङ्गा शारदा मावि, २ को शंकरपुरगञ्जको भानु मावि, ४ पर्सियाको स्वतन्त्र मावि र ६ चाँन्देवको रामेश्वर माविमा क्वारेन्टाइन निर्माण गरिएका छन् । चार वटै क्वारेन्टाइनमा बस्नेहरुले ओढ्ने, ओछ्याउने सबै आफ्नै घरबाट ल्याउन परेकोलगायत गुनासो पोखेका छन् ।

त्यस्तै, केही क्वारेन्टाइनमा कुहिएको चामलको भात खुवाइएको गुनासो छ । त्यस्तै, केही क्यारेन्टाइनमा मासु भात खान नपाएको भन्दै गुनासो छ ।

‘गाउँपालिकाले एक झुल र एक साबुन बाहेक केही दिएको छैन ।‘ चाँन्देवको रामेश्वर विद्यालयको क्वारेन्टाइनमा बसेका प्रेमसिह रानाले भने, ‘हामीले घरबाट ओछ्यानेदेखि तरकारी, दाल, भुटन र प्याजसम्म आफैले ल्याउनुपर्ने बाध्यता छ ।’ यसैबीच रानाले कुहिएको चामल खुवाउने गरेको दुखेसो पोखे ।

उनले भने, ‘गाउँपालिकालाई एनजीओहरुले दिएको कुहिएको चामल हामीले खानुपर्ने बाध्यता छ । यस्तो चामलको भात कुकुरले पनि खाँदैन ।’

भानुमाविको क्वारेन्टाइनमा बस्ने लखन रानाले विद्यालयमा बेड नभएकाले आफ्नै घरबाट खटिया ल्याएर सुतिरहेको बताए ।

उनले भने, ‘समाचार सुन्दा गाउँपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको सुन्छौ, तर हामीलाई यहाँ एक बेडपनि छैन । विद्यालयका बेच्न मिलाएर सुत्नुभन्दा घरबाटै खटिया ल्याएर सुतिरहेका छौँ ।’ त्यस्तै, तीनचार दिन बसेका २२ जनालाई गाउँपालिकाले सित्तैमा घर पठाएको बताए ।

यता शारदा माविको क्वारेन्टाइनमा बस्दै आएका सुरज रानाले शुक्रबार मासुभात दिएर गाउँपालिकाले राम्रो सुविधा दिएको बताए । ‘हामीलाई आज कुखुराको दुई÷तीन चोक्टा मासु दिएको छ । हाम्रो यहाँ त गाउँपालिकाले राम्रो व्यवस्थापन गरेको छ ।’

त्यस्तै, स्वतन्त्र माविको क्वारेन्टाइनमा बसेकाहरुले दैनिक घरबाट खाना ल्याएर खान बाध्य छन् । बिहीबारसम्ममा लालझाडी गाउँपालिकाले निर्माण गरेका चार क्वारेन्टाइनहरु शारमा माविमा ४ जना, भानु माविमा ३३ जना, स्वतन्त्र माविमा १३ जना र रामेश्वर माविमा ८ जना गरी जम्मा ५८ जना बस्दै आएका छन् । क्वारेन्टाइन व्यवस्थापनका लागि गाउँपालिकाले लाखौँ रकम खर्च गरेपनि उचित व्यवस्थापन नभएपछि क्वारेन्टाइनमा बस्नेहरु अव्यवस्थित हुन पुगेका छन् ।

गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा गरेको प्रयास पहलबारे स्थानीय राजनीति दल, नागरिक अगुवाले समेत कटाक्ष गरेका छन् । लालझाडी गाउँपालिका ६ का वडाध्यक्ष फुलाराम चौधरीले कुहिएको चामलको विषयमा संघ संस्थाले गाउँपालिकालाई दिएको चामल भएको बताएका छन् ।

उनले भने, ‘हामीलाई गाउँपालिकाले चामल उपलब्ध गराएको हो । त्यही चामल खुवाइरहेका छौँ, कुहिएको वा कस्तो छ, त्यो मलाई थाहा छैन ।’

लालझाडी गाउँपालिकाका प्रमुख मदन सेन बडायकले स्थानीय स्रोतले भ्याएसम्म उचित व्यवस्थापन गरिएको बताए । उनले भने, ‘हामीले सबै क्वारेन्टाइनमा राम्रो व्यवस्थापन गरेका छौँ । केही असन्तुष्ट समूहले अनावश्यक हल्ला मात्रै गरेका हुन् ।’

गाउँपालिका प्रमुख बडायकले सबै क्वारेन्टाइनमा एनएनएसडब्लुएबाट प्राप्त चामल वितरण गरेको बताए । ‘चाँन्देवको क्वारेन्टाइनमा पानीका कारण भात कालो हुने गरेको छ । कुहिएको चामल हामीले खुवाउने कुरै भएन । कुहिएको चामल फेला परे अर्को चामल खुवाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV