१२ बैशाख २०७७, शुक्रबार
  • उत्तम पौडेल

पोखरा , १२ बैशाख । कोरोनाको जोखिम बढेको भन्दै नेपाली युवा उद्यमी मञ्च पोखराले वडा प्रहरी कार्यालय बैदामलाई सेनिटाइजर टनेल हस्तान्तरण गरेको छ ।

कोरोनाको जटिल परिस्थितिमा फ्रन्टलाइनमा काम गर्ने मध्येको एक नेपाल प्रहरी भएका कारण उनीहरुको जोखिम कम गर्न मञ्चले टनेल हस्तान्तरण गरेको बताइएको छ ।

कास्कीको पर्यटकीय नगरी पोखराको लेकसाइडमा रहेको वडा प्रहरी कार्यालयमा टनेल उपलब्ध गराइएको हो ।

टनेल युवा उद्यमी मञ्चकै एक जना उद्यमी सरोज कायस्थले बनाएका हुन । सो टनेलमा सेनिटाइज्ड भएपनि मात्र वडा प्रहरी कार्यालय प्रवेश गर्न पाइने भएको छ । टनेल वडा प्रहरी कार्यालयको गेट भित्र राखिएको छ ।

टनेल हस्तान्तरण गर्दै युवा उद्यमी मञ्चका अध्यक्ष पुनित बैद्यले आफुहरुको सानो प्रयासले प्रहरीलाई सुरक्षित रहन मद्यत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । सोही हस्तान्तरण कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले युवा व्यवसायीको यो कार्यले प्रहरीलाई जोखिम कम भएको र काम गर्न हौसला मिलेको बताउनुभयो ।

युवा उद्यमी मञ्चमा करीब सय भन्दा बढी युवाहरुको आबद्धता रहेको छ । मञ्चले केही दिन अगाडि पनि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई तीन हजार वटा मास्क र ४ लिटर सेनिटाइजर उपलब्ध गरेको थियो भने वडा प्रहरी कार्यालय बैदामलाई १०० कार्टुन पानी पनि उपलब्ध गराएको थियो ।

कार्यक्रमको सहजीकरण मञ्चका प्रोगाम चियर पर्सन निरन केसीले गर्नुभएको थियो । उहाँले आफुहरु अन्य समयमा पनि युवाको भूमिका निर्वाह गर्न सधै अगाडि रहने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV