१२ बैशाख २०७७, शुक्रबार

काठमाडौं, १२ बैशाख । गोरखा भूकम्पको पाँचौं स्मृति पारेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका बाँकी कामलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने र पुनर्निर्माणका सिकाइ संस्थागत गर्नेबारे भर्चुअल अन्तरक्रिया (वेबिनार) आयोजना गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा भएको अन्तरक्रियामा पुनर्निर्माण प्राधिकरणका अधिकारीहरु, नेपालको पुनर्निर्माणमा संलग्न विभिन्न दातृ निकायका प्रतिनिधिहरु एवं पुनर्निर्माण विज्ञसहित ४५ जनाको सहभागिता थियो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा प्राप्त अनुभवहरुलाई संस्थागत गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एवं तीनै तहका सरकारहरुसँग निकट भएर काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका कारण पुनर्निर्माणका कामहरु प्रभावित भएको उल्लेख गर्नुहुँदै ऐनले दिएको सुविधाअनुसार समय थप गर्ने वा नगर्नेबारे छलफल भइरहेको बताउनुभयो ।

प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले कार्यक्रमको विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले पुनर्निर्माणको कार्यमा सघाउ पुर्याउने सरकारी निकाय, दातृ निकाय, विकास साझेदार, स्थानीय तह तथा लाभग्राही सबैलाई धन्यवाद दिनुभयो ।

साथै पुनर्निर्माणका कार्यहरु तोकिएको समयमा सम्पन्न हुने बताउनु भयो ।
प्राधिकरण कार्यकारी समिति सदस्य डा.चन्द्रबहादुर श्रेष्ठले नेपालको पुनर्निर्माण कार्यक्रमको सार, बाँकी मुख्य विषयहरु एवं आगामी बाटोबारे मुख्य सामग्री प्रस्तुत गर्नुभएको थियो जसमाथि छ जनाले टिप्पणी गर्नुभयो ।

उहाँले घर निर्माणको समयसीमा, शहरी पुनर्निर्माण, सम्पदा पुनर्निर्माण एवं प्राधिकरणद्वारा तयार भएका विभिन्न गुरुयोजना कार्यान्वयनजस्ता विषयहरु उल्लेख गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणले बनाएका नियमावली, निर्देशिक अन्य अभ्यास आगामी दिनमा अन्य विपद्हरुको व्यवस्थापनमा उपयोगी हुने धारणा राख्दै सिकाइहरु संस्थागत गर्न पुनर्निर्माण प्राधिकरणसँग जोडिएर काम गरिरहेको बताउनुभयो ।

अन्तक्रियामा विश्व बैंकका बरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अक्बर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का सहायक आवासीय प्रतिनिधि विजय सिंह, अमेरिकी विकास सहयोग नियोग यूसएड नेपालका प्रतिनिधि एन्ड्रयु गोल्डा, भूकम्प प्रविधि राष्ट्रिय समाजका रणनीति सल्लाहकार आमोद मणि दिक्षित र पत्रकार कनकमणि दिक्षितले टिप्पणी गर्नुभएको थियो ।

उहाँहरुले विविध प्रतिकुलताका बाबजुद पुनर्निर्माणमा प्राप्त उपलब्धी उल्लेखनीय रहेको धारणा राख्दै प्राप्त सिकाइहरुको संस्थागत स्मरण, अभिलेखीकरण तथा हस्तान्तरणमा ध्यान दिन सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV