१२ बैशाख २०७७, शुक्रबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १२ बैशाख । पछिलो समय उदयपुरको मदरसाबाट कोरोना संक्रमित फेला परेपछि धनुषा जिल्ला प्रशासन कार्यालयले धनुषाका दर्जनौं मदरसाहरुमा अनुगमन सुरु गरेको छ ।

मुस्लिम समुदायका प्रमुख पर्व रमजान सुरु हुन लागेको बेला शुक्रबार (जुम्माको दिन) पारेर जिल्लाका संयुक्त सुरक्षा समूहले दर्जनौं मदरसामा लकडाउनपछि पहिलो पटक अनुगमन गरेको हो ।

मुस्लिम अगुवा नेता मध्ये दुई जनालाई साथ लिएर नै स्थानीय प्रशासनले मस्जिदमा अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको उपस्थितिमा नगर क्षेत्र भित्रका मस्जिद र मदरसाहरुको अवस्था र त्यसभित्रै रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्था बारे सोधखोज पनि गरिएको छ ।

अनुगमनको क्रममा मदरसाहरुमा सरकारले घोषणा गरेको लकडाउनको पालना गरिएको पाइएको थियो । मुस्लिम समुदायको पर्वको बेलामा लकडाउनको अवस्थामा मदरसा र मस्जिदको अवस्था के कस्तो छ ? भन्ने बुझ्न र कोरोना संक्रमण बारे जन चेतना दिने उदेश्यले नै संयुक्त रुपमा अनुगमन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले न्यूज २४ लाई बताउनु भयो ।

नवाज पढ्दा पनि सामाजिक दूरी मायक गरिएको देखियो तर, कुनै कुनै स्थानमा भीड़भाड़ बढ़ी देखिएको निरौलाले बताउनुभयो ।

आज अनुगमन गरिएको कुनै पनि स्थानमा अहिलेसम्म जनकपुर नगरमा बाहिरबाट आएका तथा जामातीहरु नभेटिएका प्रजिअ निरौलाले स्पष्ट पार्नु भयो ।

जनकपुरधाम उप महानगरपालिका वडा नं २३ लादो बेलाको नूरी मस्जिद, दारुल उलूम अताये मुस्तफा मस्जिद, रेजा जामा मस्जिद, वडा नं ४ स्थित अल्जामी अतुल कादिया मदिना तूल उलूम मस्जिद, वडा नं २० रुपैठाको जामिया इमाम अहमद रेजा मदरसा, नूरी जामे मस्जिद, मस्जिद कादरिया, वडा नं २४ बसहियास्थित कादरी बरकाती जामे मस्जिद, मदरसा फैजुल इस्लाम दायमी मदरसा, वडा नं ६ जानकी मन्दिर पछाडि रहेको मदरसा र मस्जिदमा अनुगमन गरिएको हो ।

LIVE TV