१२ बैशाख २०७७, शुक्रबार
  • जनकबहादुर शाही

हुम्ला, १२ बैशाख । बन्दाबन्दी (लकडाउन) को मौका छोपी जिल्ला सदरमुकाम सिमकोटमा एकैदिन ६ पसलमा चोरी भएको छ । लकडाउनका कारण पसल, होटल र बजारमा आउजाउ गर्न कडाइ गरिएको भए पनि बिहीबार राति सिमकोटका आधा दर्जन पसलहरुमा चोरी भएको हाे ।

सदरमुकाम सिमकोटको मुटु मानिने मुख्य बजारकाली चोक क्षेत्रका पसलहरुमा चोरी भएको छ । कालीचोकस्थित आदित्य जनरल स्टोरका दुईवटा पसल, पानस कम्प्युटर एण्ड डिजिटल फोटो सेन्टरमा पनि चोरी भएको छ । यसैगरी कालीचोकमा रहेको एसपी जनरल स्टोर, काठेचुली चोकमा रहेको बालाजी सुनचाँदी पसलको ताला काटिएको छ । चोरले सुरक्षाका लागि राखिएका सिसिटिभी पनि फुटाएको छ । सिसिटिभी फुटाउनु अगाडिको फुटेजमा चोरी गर्न आउने व्यक्तिले मास्क लगाएको देखिएको प्रहरीले जनाएको छ ।

कालीचोककै सुरक्षा प्रबन्ध प्रभावकारी नहुँदा चोरीका घटना बढ्दै गएको व्यापारीले बताएका छन् । अहिले पछिल्लो चरणमा सिमकोटमा चोरीका घटना बढसँगै सदरमुकाम सिमकोटको सुरक्षा चुनाैती पनि बढेको छ ।

पहिला जस्तो दैनिक पसल खोलेको भए सामान यति चोरी भयो भन्ने थाहा छिटो हुने पानस सपि सेन्टरका पालु रावतले बताए । लकडाउन भएदेखि पसल बन्दा रहेकोले रातिको समयमा आफ्नो पसल ढोकाको चाबी काटी सिसाबाट भित्र छिर्न नसके पछि त्यसै छोडेर गएको रावलले बताए ।

बजारमा राति सुरक्षाकर्मीबाहेक कोही हुँदैन, उनीहरुको लापरबाहीले मुख्य बजारमै चोरी भएको रावतले बताए । चोकैमा रहेका आदित्य जनरल स्टोरका दुईवटा पसलमा चाेरीमा भएकाे छ । एउटा पसलमा रहेका रक्सिहरु बल्याक लेबल, रेड लेबल, वल्ड दरबारलागयत चाेरी भएकाे छ । अर्काेमा १५ -१६ वटा डाउन ज्याकेट १०-१२ वटा जिन्स पाइन्ट चाेरले लिएको थाहा भए पनि अन्य के कति चोरी भएको छ, यकीन हुन बाँकी रहेको आदित्य जनरल स्टोरका रेशम महतले बताए ।

सदरमुकाम सिमकोटको सुरक्षा मजबुत भएको प्रहरीले दावी गरे पनि बजारमा सुरक्षा गस्ती नै नगरेको स्थानीयले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV