११ बैशाख २०७७, बिहीबार
  • बाल बिक्रम कार्की,

रौतहट, ११ वैशाख । लकडाउन अवधिमा काठमाडौँ उपत्यका लगायतका स्थानबाट रौतहट आएका भारतीय नागरिकहरुको व्यवस्थापन अहिले यहाँका स्थानीय तहको टाउको दुखाईको विषय बनेको छ ।

नेपाल सरकारले कोरोना फैलिन नदिन लकडाउन गरेको छ तरपनि देशका विभिन्न स्थानबाट भारतीयहरु पैदल तथा अन्य माध्यमद्धारा रौतहट आइपुगेका छन् । उनीहरु जिल्लाका विभिन्न सीमानाका हुँदै आफ्नो देश भारत जानको लागि रौतहट आएका हुन् ।

तर हाल नेपाल–भारत सीमा पूरै शील भएको अवस्थामा दुबै देशका नागरिकलाई सीमा वारपार गर्न बन्देज गरिएको छ । त्यसैले नेपाल हुँदै भारत जान लागेका भारतीय नागरिकहरुलाई नेपालमै व्यवस्थापन गर्नुपर्ने वाध्यता रहेको छ ।

यसरी जिल्लामा भेटिएका भारतीय नागरिकहरुलाई विभिन्न स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा राख्ने गरिएको छ । तर क्वारेनटाइनमा बस्ने भारतीयहरुको संख्या बढ्दै गएपछि उनीहरुको व्यस्थापन स्थानीय तहको लागि ठूलो चुनौती बन्दै गइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङ्क अनुसार पछिल्लो तीन दिनमा रौतहटको सीमानामा भेटिएका ६० जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।

अहिले जिल्लाका विभिन्न स्थानीय तहले आफ्ना नागरिकहरुलाई काठमाडौँ उपत्यकाबाट उद्धार गरेर गाउँ ल्याउने तयारी गरिरहेका बेला त्यहीँ समूहमा मिसिएर ठूलो संख्यामा भारतीय नागरिकहरु पनि रौतहट आउनसक्ने सम्भावना रहेको छ ।

मुस्लिम समुदायको ठूलो पर्व इदपनि नजिकिदै गइरहेकाले आफ्नो घर जानको लागि भारतीयहरु विभिन्न माध्यमबाट जिल्लाका विभिन्न सीमानाका सम्म आउने आँकलन स्थानीयहरुको छ ।

सीमानाका पूर्णरुपमा शील गरिएको कारण यस्ता भारतीय नागरिकहरुको व्यवस्थापन स्थानीय प्रशासनले जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्वारेन्टाइनमा गर्नुपर्ने हुन्छ ।

सीमामा भेटिएका भारतीयहरुलाई स्थानीय प्रशासनले एम्बुलेन्समा राखेर क्वारेन्टाइनमा पु¥याउने गरेको छ ।

यसरीनै भारतीय नागरिकहरुको संख्या बढ्दै जाने हो भन्ने यहाँका स्थानीय तहले उनीहरुको व्यवस्थापन गर्न नसक्ने गौर नगरपालिकाका मेयर अजय गुप्ताको भनाइ छ ।

स्थानीय तहले आफ्नो सीमिति वजेट परिचालन गरेर हाल क्वारेन्टाइनमा रहेका आफ्ना नागरिकको व्यवस्थापन गरिरहेको अवस्थामा यसरीनै भारतीय नागरिकहरु थपिदैँ जाने हो भने कुनैपनि स्थानीय तहले खर्च धान्न नसक्ने अवस्था आउने उहाँको दावी छ ।

उहाँ क्वारेन्टाइनमा बस्नेहरुको खाजा, खाना, स्वास्थ्य परीक्षण लगायतका खर्चहरु हालसम्म स्थानीय तहले जेनतेन व्यवस्थापन गरिरहेको अवस्थामा दिनानुदिन थपिदैँ आइरहेका भारतीय नागरिकहरुको क्वारेन्टाइनको खर्च स्थानीय तहले धान्न नसक्ने दावी गर्नुहुन्छ ।

उहाँले यसरी राखिएका सम्पूर्ण भारतीयहरुको व्यवस्थापन केन्द्रीय सरकारले लिनुपर्ने भन्दै हाल संघीय सरकारले सबै जिम्मा स्थानीय तहको टाउको थुपारेर आफुभने रमिता हेरेर बसिरहेको आरोप लगाउनुभयो ।

‘संघीय सरकार नेपालको सीमाना भेटिएका भारतीय नागरिकलाई भारत नपठाउनु यहीँको क्वारेन्टाइनमा व्यवस्थापन गर्नुभन्ने आदेश दिन्छ’ आक्रोश व्यक्त गर्दै गुप भन्नुहुन्छ, ‘खाली मुखले व्यवस्थापन गर्नु भनेर हुन्छ ? उनीहरुको व्यवस्थापनमा लाग्ने खर्चपनि त बेर्होनु प¥यो पनि । खाली केन्द्रमा बस्ने निर्देशन दिने बाहेक संघीय सरकारले आजसम्म केहि गरेको छैन् ।’

संघीय सरकारले क्वारेन्टाइन व्यवस्थापन गर्नको लागि वजेट त परै जाओस् एउटा मास्क पनि नदिएको उहाँको आरोप छ । यसरी भारतिय नागरिकको संख्या बढ्दै जाने हो जिल्लामा रहेका क्वारेन्टाइनका वेडहरु अपुग भएर थप्नुपर्ने अवस्था आउने उहाँ बताउनुहुन्छ ।

जिल्लामा हाल ८ सय ५१ क्वारेन्टाइन वेडहरु रहेका छन् । हाल यहाँको क्वारेन्टाइनमा १५ महिलासहित २ सय ३० जना राखिएका छन् ।

यसरी क्वारेनटाइनमा राखिएकाहरुलाई नेपाल–भारत सीमा नखुलुन्जेल पाल्नुपर्ने भएकाले पनि स्थानीय तहहरु झनै हच्किएका हुन् । नेपाल–भारत सीमा कहिलेसम्म खुल्छ भन्ने अझैसम्म कुनै अत्तोपत्तो छैन् ।

यसरी सीमा नाकामा आइपुगेका अधिकांश भारतीयहरु मजदूर रहेका छन् । लकडाउनले गर्दा काम बन्द भएपछि उनीहरु आफ्नो घर जान भनेर रौतहटसम्म आइपुगेका हुन् ।

लकडाउनको अवधिमा जो जहाँको हो त्यहीँ सुरक्षित व्यवस्थापन गरिनुपर्नेमा उनीहरुलाई घर पठाइएकाले यो समस्या देखिएको एक सुरक्षा अधिकारीको भनाइ छ ।

उनले संघीय सरकारले वोर्डरबाट कसैलाई पनि आउन जाउन नदिनु भन्ने कडा निर्देशक दिएका आफुहरुले भेटिएका जति सबैलाई स्थानीय तहसँग समन्यवन गरेर क्वारेन्टाइनमा पठाउने गरेको बताए ।

संघीय सरकारले भारत सरकारसँग कुरा गरेर सीमामा आइपुगेका भारतीयहरुलाई भारततर्फ पठाउने व्यवस्था गर्नुपर्ने वा उनीहरु जहाँ काम गरिरहेका थिए त्यहीँ उद्योगमा व्यस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV