११ बैशाख २०७७, बिहीबार
  • माधब गैह्रे,

स्याङ्जा, ११ बैशाख । सामाजिक सुरक्षा भत्ता बाँड्ने वित्तीय संस्थाले कुनै पनि सेवा शुल्क लिन पाउने प्रावधान छैन । तर, स्याङजाको एक बैंकले वृद्धवृद्धाहरुको खाताबाट रकम काटेको खुल्न आएको छ ।

जिल्लास्थित कुमारी बैंकको शाखाबाट वृद्धवृद्धाहरुलाई जानकारी नगराइकन खातामा आएको भत्ताबाट एसएमएस बैंकिङ सेवा बापत २ सय ५० का दरले रकम काटेको गुनासो बाहिर आउन थालेको छ ।

बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्ने मध्ये करिब एक सय जनाको रकम काटिएको स्थानीय जनप्रतिनिधिहरुले न्यूज २४ लाई जानकारी दिएका छन् ।

आफ्नो खातामा चौमासिकको ११ हजार रुपैयाँ मात्रै आएकोले ११ हजारको मात्रै चेक काटेको पुतलीबजार नगरपालिका ११ मायाटारीका भीमबहादुर गैह्रेले बताउनुभयो ।

१ हजार रुपैयाँ किन आएन आफुलाई थाहा नभएको बताउँदै गैह्रेले आफूले बैंकमा खाता मात्रै खोलेको र बैंकमा एसएमएस बैंकिङको लागि कुनै फारम नभरेको जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता लिनेहरुको हकमा पुतलीबजार नगरपालिकासंग बैंले सम्झौता गरेको छ । बैंक र पुतलीबजार नगरपालिकाबीच सम्झौतामा सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई विद्युतीय सेवा प्रवाह नगर्ने उल्लेख गरिएको नगरपालिकाले जनाएको छ ।

एसएमएस वैंकिङ सेवा वापतको रकम प्रधान कार्यालयले काटेको कुमारी बैंक स्याङजा शाखाका प्रबन्धक अमर श्रेष्ठले दावी छ । श्रेष्ठले उक्त रकम फिर्ता हुने बताए पनि वृद्धभत्ता लिनेहरुको एसएमएस बैंकिङ सेवामा रकम नलाग्ने बैंक कर्मचारी अनुशा शाक्यले जानकारी दिनुभयो ।

कुमारी बैंक स्याङजा शाखाले विगत केही वर्षदेखि पुतलीबजार नगरपालिका वडा नं. ११ को सामाजिक सुरक्षा अन्तर्गतको रकम वितरण गर्दै आएको थियो । बैंकले ११ नंं.वडामा सामाजिक सुरक्षामा चौमासिकरुपमा ३४ लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV