११ बैशाख २०७७, बिहीबार
  • देवराज पन्त,

मकवानपुर , ११ वैशाख । कोरोना संक्रमणका कारण देश लकडाउनमा गएपछि अत्यावश्यक क्षेत्रबाहेक सबै ठप्प छ । यसको असर शिक्षा क्षेत्रमा पनि परेको छ ।

लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई समेत प्रत्यक्ष असर पुगेको छ । तर बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले भने विद्यार्थीहरुलाई अनलाईन मार्फत दैनिक कक्षा सञ्चालन गरिरहेको छ ।

दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म स्नातक तहका बीबीए, बीबीएम तथा स्नातकोत्तर तहका एमबीएस र एमएमा अध्ययनरत करिब ३ सय ५० जना विद्यार्थीहरु घरमै बसेर विषयगत शिक्षकहरुबाट अनलाईन मार्फत प्रत्यक्ष अध्ययन गरिरहेको बीबीए, बीबीएमका कार्यक्रम निर्देशक मधुकुमार सिंहले बताउनुभयो ।

क्याम्पसले “जुम एप्लिकेशन” मार्फत विषयतग शिक्षकहरुले अध्यापन गराईरहेका छन् । अनलाईन कक्षाका लागि क्याम्पसले अतिरिक्त शुल्क नलिएको र विद्यार्थीहरुको शैक्षिक गुणस्तर खस्किन नदिन अनलाईन कक्षा सञ्चालन गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलका अनुसार, लकडाउनले गर्दा विद्यार्थीहरु घरमै खाली बस्ने हुनाले समयको सदुपयोग होस् भन्नका लागि पनि अनलाईन कक्षा सञ्चालन गरिएको हो ।

लकडाउन नखुलेसम्म नै अनलाईन कक्षा सञ्चालन हुने क्याम्पस प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV